नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेको भन्दै मंगलबार ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि विवाद सिर्जना भएको छ।
सेयर बजार नियामक निकाय धितोपत्र बोर्डले पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङ र कर्नरिङ गरेर सेयर मूल्य बढाएको भन्दै ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियोे। इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय चर्काे रुपमा बजारमा उठेपछि बोर्डले एक महिनाअघि सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो।
अध्ययनपछि जोखिमयुक्त ५१ कम्पनी छनोट गर्दा केही आधार लिएको बोर्डले जनाएको छ। बोर्डले करिब एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत संगठित संस्थाको सेयरको मूल्यवृद्धि ३ सय प्रतिशतभन्दा बढी वृद्धि भएको, मूल्य आम्दानी अनुपात एक सयभन्दा बढी भएको, प्रति सेयर आम्दानी ऋणात्मक भएको, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कमका आधारमा छनोट गरेको जनाएको छ।
बोर्डले केही दिनअघि विज्ञप्ति जारी गर्दै बजारमा सेयर कर्नरिङ हुने गरेको स्वीकार गरेको थियो। नेप्सेमा सूचीकृत कम्पनीको सेयर कर्नरिङ गरेर कृत्रिम रुपमा सेयर मूल्य बढाएमा तीन वर्षसम्म कैद सजाय गर्ने गरी कारबाही गर्ने अधिकार धितोपत्र ऐन, २०६३ ले बोर्डलाई दिएको छ। अहिलेसम्म त्यसो गरेबापत बोर्डले कसैलाई कारबाही गरेको छैन।
यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारमा अनावश्यक चलखेल गरेर सेयरको मूल्य बढाउने काममा संलग्न हुने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए।
बोर्डको रिपोर्टअनुसार ५१ कम्पनीको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको पाइएको छ। ढुंगानाका अनुसार बोर्डले पुँजी बजारलाई व्यवस्थित बनाउन खोजेको छ। अब यस्तो कार्यमा संलग्न जोकोहीलाई कारबाही गरिनेछ पुँजीबजारलाई दिगो बनाउन आफ्नै गतिमा चल्न दिनुपर्छ। अहिले चलखेल गरेर कम्पनीको मूल्य बढाउने काम भइरहेको पाइएकाले बोर्डले नियमन गर्दै जाने ढुंगानाले बताए।
बोर्डले मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा लगानी गर्नु जोखिमयुक्त देखिएको जनाएको छ। यस्ता कम्पनीको सेयर बजार उच्च अंकमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न पनि बोर्डले आग्रह गरेको छ।
बोर्डले भनेको छ ‘बजार सधैँ बढिरहने मात्र नभई समय क्रममा घटबढ भइ रहन्छ, बजारको हल्ला वा लहलहैमा लागेर लगानी गर्नु जोखिमयुक्त हुन्छ।’
उल्लिखित ५१ कम्पनीको सेयर किन्दा लगानीकर्ता फस्ने बताउँदै सोचविचार गरेर मात्रै खरिदबिक्रीमा सहभागी हुन बोर्डले अनुरोध गरेको छ।
के भन्छन् लगानीकर्ता?
नेपाल धितोपत्र बोर्डको विज्ञप्तिप्रति सेयर लगानीकर्ताले विरोध जनाएका छन्। बोर्डले नामै तोकेर ५१ कम्पनी सेयर लगानीका लागि जोखिममा रहेको भनी विज्ञप्ति जारी गरेपछि लगानीकर्ताले विरोध जनाएका हुन्।
अहिले शेयर बजार उच्च रुपमा वृिद्व भइरहेको अवस्थामा यसरी नामै किटान गरेर सार्वजनिक गर्दा शेयर बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताले बताएका छन्। नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नामै तोकेर जोखिममा छन् भन्नु गलत रहेको बताए।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारमा अनावश्यक चलखेल गरेर सेयरको मूल्य बढाउने काममा संलग्न हुने सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए।
‘बोर्डले तोकेका धेरै कम्पनी राम्रो छन्। तर, बोर्डले नामै तोकेर विज्ञप्ति निकाल्यो। निश्चित सिमा तोक्नु राम्रो भए पनि यसरी नामै किटान गरेर सार्वजनिक गर्नु गलत हो,’ रौनियारले केन्द्रबिन्दुसँग भने।
उनका अनुसार नियामक आफैंले जोखिम भनेर एकाएक कम्पनीको नाम तोक्नु हुँदैनथ्यो। खराब काम गरेका, नियमित साधारणसभा बस्न नसकेका, वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीलाई आन्तरिक रुपमा कारबाही गर्नुपर्थ्याे। तर, त्यसो नगरिँदा बजार प्रभावित हुने देखिन्छ।
विज्ञप्तिले नेप्सेमा सूचीकृत २० प्रतिशत कम्पनीको बजार प्रभावित बनाएको रौनियारको भनाइ छ।
खुला बजारले कम्पनीको मूल्य निर्धारण गर्ने भएकाले यसतर्फ कसैले पनि विवाद गर्नु नहुने उनको भनाइ छ। ‘बोर्डको प्रतिवेदनले अलि राम्रो कम्पनीमा लगानी गर्नुपर्छ भन्ने सचेत चाहिँ गराएको छ,’ उनले भने, ‘बोर्डले नाम सार्वजनिक गर्यो भनेर जोकोही लगानीकर्ता डराउनु हुँदैन। यसले राम्रो कम्पनीमा लगानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ।’
उनका अनुसार बोर्डको रिपोर्टले अस्वाभाविक मूल्य बढेका नराम्रा कम्पनी चिन्ने मौका मिलेको छ। लामो समयदेखि लाभांश नदिएका कम्पनीबारे तथ्य थाहा भएको छ। अब बोर्डले पूरा छानबिन गरी बदमासी गरेको भेटिए कारबाही गर्नुपर्ने उनको भनाइ छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बोर्डको प्रतिवेदन सकारात्मक भए पनि सार्वजनिक गर्ने समय गलत भएको बताउँछिन्।
यति बेला लगानीका क्षेत्र बन्द भएका बेला धेरै मान्छेले दुःख गरेर कमाएको पैसा सेयर बजारमा लगानी गरेका छन्। उनले भनिन्, ‘विज्ञप्ति सही भए पनि समग्र गलत भयो। बजार तीन हजारमाथि पुगेपछि यस्तो रिपोर्ट आउँदा लगानीकर्ताको मनस्थितिमा असर पर्छ।’
पोखरेलका अनुसार बोर्डले लगानीकर्तामाथि खेलबाड गरेको छ। लगानीकर्तालाई आफ्नो कम्पनीको सेयर कारोबार रोक्का हुने हो कि भन्ने आशंका छ। यसले लगानीकर्ताको मनोबल घट्ने उनी बताउँछिन्।
त्यस्तै, नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलको भने यसबारे फरक विश्लेषण छ। नेपाल धितोपत्र बोर्डको विज्ञप्तिले लगानी भत्काउन नसक्ने पौडेलले बताएका छन्। कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरिएको छ भने धितोपत्र बोर्डको विज्ञप्तिले सेयर बजार भत्काउन नसक्ने उनको भनाइ छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बोर्डको प्रतिवेदन सकारात्मक भए पनि सार्वजनिक गर्ने समय गलत भएको बताउँछिन्।
‘कम्पनीको बारेमा निश्चित मान्यता राखेर लगानी गरिएको हुन्छ। आफ्नो लगानी र छनोटमा दृढ बस्न सके प्रतिफल निश्चित छ। विश्वासको बाँधले कहिलेकाहीँ आउने अनपेक्षित बाढीलाई छेक्नुपर्दछ,’ पौडेलले भने।
बोर्डको विज्ञप्तिको असर सेयर बजारमा
नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेपछि त्यसको असर बुधबारको सेयर कारोबारमा देखिएको छ। निषेधाज्ञापछि लगातार रुपमा कारोबार रकम र नेप्से परिसूचक नयाँ रेकर्ड बनाउँदै आएको थियोे। तर, धितोपत्र बोर्डको विज्ञप्ति आएको भोलिपल्ट सेयरमा ब्रेक लागेको छ।
आइतबार मात्रै सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो। त्यस्तै, आइतबारै नेप्से ३८.३२ अंकले बढेर २ हजार ९८३.३२ बिन्दुमा पुगेको थियो। उक्त दिन ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो।
तर, बुधबार नेप्से परिसूचक ५२.३९ अंकले घटेर २ हजार ९६९.७२ अंकमा झरेको छ।
बुधबार कारोबारमा आएका २ सय १९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १८ रुपैयाँमा मात्रै कारोबार भएको छ। आज १ सय ५३ कम्पनीको सेयर मूल्य घट्दा ६० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर छ।
सब–इन्डेक्सतर्फ माइक्रोफाइनान्स सब इन्स मात्रै २.६३ प्रतिशतले बढेको छ भने अन्य सबै इन्डेक्समा भारी गिरावट भएको छ। होटल तथा पर्यटन ५.१४ प्रतिशत विकास बैंक ४.०४ प्रतिशत, जलविद्युत ४.७५ प्रतिशत, फाइनान्स ६.८ प्रतिशत, निर्जीवन बीमा कम्पनी, २.६ प्रतिशत, म्यानुफ्याक्चुिरङ एन्ड प्रोसेसिङ ३.१७ प्रतिशतले गिरावट भएको छ।





























प्रतिक्रिया