एमाले त्याग्न सजिलो छैन, केपी कमरेडले एकता प्याकेज ल्याउनुपर्छ: अष्टलक्ष्मी शाक्य

एमाले त्याग्न सजिलो छैन, केपी कमरेडले एकता प्याकेज ल्याउनुपर्छ: अष्टलक्ष्मी शाक्य

केन्द्रबिन्दु
0
Shares

२३ फागुनमा सर्वोच्चकै आदेशबाट तत्कालीन नेकपा विभाजन भयो भने एमाले चाहिँ गत जेठ २७ को आदेशबाट एकताको प्रक्रियामा अघि बढेको छ। यसले एमालेजनमा खुसीको सञ्चार पैदा भएको छ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पार्टी अध्यक्ष केपी ओलीले गठन गरेको १० औं महाधिवेशन आयोजक कमिटी एमालेको आधिकारिक पार्टी संरचना मान्न नसकिने र उक्त निर्णय बदरभागी रहेको २७ जेठमा अन्तरिम आदेशमार्फत् भनेको थियो।

आखिर, यही आदेशले एमाले अन्ततः एकताको नयाँ चरणमा प्रवेश गरेको छ। प्रदेश १, बागमतीसँगै लुम्बिनी प्रदेशका ओली र नेता माधवकुमार नेपालपक्षीय सांसदहरू यसअघि नै एकजुट देखिएका छन्।

यी राजनीतिक परिघटनाबीच माधव नेपाल पक्षलाई साथ दिँदै आएकी प्रभावशाली एमाले नेतृ अष्टलक्ष्मी शाक्यसँग एमाले एकताको मिलनविन्दु, एकताको वातावरण बन्दै जानुको कारकसँगै जेठ ३ मा फर्किन किन नसकिने? अनि, नयाँ पार्टी खोल्ने बाटो बन्द भएको हो? लगायत प्रश्नमा केन्द्रित रहेर केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंशः 

एमालेमा अब चाहिँ एकताको छनक देखिएको हो? बागमतीसँगै प्रदेश १ र लुम्बिनी सरकारलाई त तपाईंहरूको पूरापुर सहयोग रह्यो। 

कुरो के भने एमाले कमजोर भयो। नेतृत्व (अध्यक्ष केपी ओली) को कारणले भएको हो। सत्ताको नेतृत्व गर्ने पार्टी यति कमजोर हुनु साह्रै विडम्बना हो। नेतृत्वले एकपछि गरेको लोकतन्त्रविरोधी, संघीयताविरोधी र गणतन्त्रविरोधी कामहरूले पार्टीमै मतभेद ल्यायो।

अर्कोतिर, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत १० औं महाधिवेशन आयोजक कमिटी अवैधानिक भन्दै खारेज गरिदियो। नेताहरूमाथिको कारबाही पनि बेठीक ठहर गरिदियो।
यी परिघटनाहरूबीच हामीले एमाले पार्टी निर्माण गर्दाको दुःख पनि सम्झिनुपर्छ।

एमाले ओलीजीको त्याग र तपस्याले मात्रै बनेको होइन। नेतासहित लाखौं कार्यकर्ताको त्याग, तपस्यासँगै वलिदानले एमाले बनेको हो। जेलनेल सहँदै, बालबच्चा नभनी, घरबार नभनी पार्टीको संगठन निर्माण गरिएकोले एमालेको माया छ।

फेरि, एक जना नेताको कारण एमाले पार्टी सकिन लाग्नु र नेपाली कम्युनिस्ट आन्दोलन पनि सकिन लाग्नु बिल्कुल ठीक होइन, विडम्बना हो।

यति भन्दै गर्दा हामी नयाँ विकल्पमा जाऔंला तर, पार्टीको भविष्य, हजारौं नेता कार्यकर्ताको भविष्य र लोकतन्त्रको भविष्य अन्धकार हुन्छ। जुन पार्टी जनमत आर्जन गरेको पार्टी हो। पार्टी विभाजन भए पार्टी, देश र जनतालाई नोक्सान हुन्छ। 

त्यही भएर बरु ओली कमरेडबाट भएका राष्ट्रघाती र जनघाती गतिविधिहरूको विरोध गर्दै वैचारिक संघर्ष गर्नुपर्यो र पार्टीलाई बचाउनुपर्यो। पार्टीको तल्ला तहहरूबाट पनि त्यही सुझाव छ।

नेकपा एमाले एकता उन्मुख छ। फुटबाट जोगिने छनक देखिएको छ। यसको मूल कारक हो,-सर्वोच्च अदालतको आदेश।

त्यसले गर्दा पार्टी नेतृत्वलाई सच्चिनका लागि सकारात्मक दबाब अन्तर्गत हामीले बागमतीसँगै प्रदेश १ र लुम्बिनी सरकारको बजेटसहितको नीति कार्यक्रमलाई एकढिक्का भएर समर्थन गर्यौं। गर्न जरुरी थियो। जो हामी मिल्छौं भन्ने सन्देश पनि हो।

एकताको माहोल बनेको हो भने मिलनविन्दु के हो?

केपी कमरेड २०७५ जेठ २ मा आउनुपर्छ। हामी जाने त्यहीँ हो। फेरि अघि पनि भनें, सर्वोच्चले १० औं महाधिवेशन आयोजक कमिटीलाई मानेन। उहाँ (केपी ओली) को जबर्जस्तीले त हुँदैन नि। त्यसले गर्दा उहाँ जेठ २ मा आउनैपर्छ। जेठ २ को कमिटीमा बस्नुपर्यो । बैठक बोलाउनुपर्यो । त्यही ढंगले अगाडि बढ्नुपर्यो । त्यसका लागि सबैभन्दा पहिले उहाँले माधव कमरेडसँग कुराकानी गर्नुपर्यो। सहमतिका लागि एउटा ‘प्याकेज’ सार्वजनिक गर्नुपर्यो।

माओवादीबाट आएका साथीहरू हुनुहुन्छ। उहाँहरूलाई कसरी मिलाएर लान सकिन्छ? त्यसबारे छलफल गर्नुपर्यो । उहाँले सर्वोच्चको अन्तरिम आदेशलाई मान्दै तत्काल माधव कमरेडसँग छलफल गरेर एकताका लागि ‘प्याकेज’ जसरी पनि घोषणा गर्नुपर्छ। मन फराकिलो बनाएर कुरा गर्ने हो भने मलाई लाग्छ, पार्टी एकता हुन्छ। हुनुपर्छ। एउटा नयाँ ऊर्जा र नयाँ सन्देशसहित अगाडि बढ्नुपर्छ। त्यसो भयो भने कम्युनिस्ट आन्दोलन बच्छ, देशलाई विकासतर्फ अगाडि बढाउन सकिन्छ। अन्य दलहरूलाई फुटाएर होइन, बलियो बनाएर लानुपर्छ। केपी कमरेड चाहिँ फुटाउन चाहनुहुन्छ। लोकतन्त्रलाई बलियो बनाउन दलहरूलाई बलियो बनाउनुपर्छ भन्ने मेरो धारणा छ।

तपाईंहरू एकताका लागि जेठ २ पूर्व फर्किनुपर्छ भन्नुहुन्छ? अध्यक्ष ओलीले जेठ ३ पूर्व फर्किने भन्नुभयो। अध्यक्षले भनेको मितिमा तपाईंहरू फर्किँदा के बिग्रिन्छ र?

ओली कमरेडको खराब बानी त्यही त हो नि। जेठ २, २…भनिरहेका छौं, अहिलेदेखि होइन। अदालतले २३ फागुनमा नेकपाबाट पहिलेकै पार्टीमा फर्क भनेदेखि भनिएको हो। तर, उहाँ मान्नु हुन्न। संकिर्ण हुनुभयो। अझ निषेधको राजनीति गरेर अघि बढ्नुभयो। मानको सट्टा अपमान गर्नुभयो। उल्टै नेताहरूमाथि कारबाही सुरु गर्नुभयो। त्यसले गर्दा झन्झन् अन्तरविरोध चर्किँदै गयो। झन्डै पार्टी दुई टुक्रा भयो। तर, धन्न अदालतको अन्तरिम आदेश आयो। कथित १० औं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक ठहर गर्यो। त्यहीँबाट पार्टी एकताको लागि सकारात्मक वातावरण बन्दै गएको हो। अब, अध्यक्ष ओलीले यहीबेला आफ्नो गुटको स्वार्थ छोड्दै मन फराकिलो बनाएर एकताको लागि त्याग गर्नुपर्छ।

अब, म तपाईंको प्रश्नमा आउँछु। जेठ ३ को एमाले हो र? होइन नि। जेठ ३ गते त नेकपा हो। त्यसदिन हामी नेकपा भइसकेका थियौं। एमाले एकता नेकपा भएर होइन, एमाले भएर गर्न चाहन्छौं। अध्यक्षले जुन जेठ ३ पूर्वको प्रस्ताव गर्नुभयो, त्यो अत्यन्तै गलत छ। उहाँप्रति त्यो प्रस्तावले झण्डै–झण्डै अविश्वास पैदा भयो।

उहाँलाई थाहा छैन र जेठ ३ मा नेकपा भएको? एकता भएको होइन त्यसदिन माओवादीसँग? फेरि, माओवादीसँग एकतापछि प्रधानमन्त्री भएसँगै पार्टी एकीकरणका बाँकी काम पनि गर्नु भएन। यति साह्रो बेइमान गर्नु हुँदैन नेतृत्वले।

त्यसो भए, राजनीतिक नभएर अध्यक्ष ओलीले गठन गरेको १० औं महाधिवेशन आयोजक कमिटी अवैध ठहर गर्ने सर्वोच्चको आदेश नै एकताको वातावरण बन्दै जानुको कारक रहेछ, होइन?

हो। अदालतको आदेश त पालना गर्नै पर्छ नि। अदालतलाई नमान्ने हुन्छ र? हुँदैन। त्यसो भएकोले दायाँबायाँ नगरिकन अहिले एकताको वातावरण बनेको बेला केपी कमरेडले जेठ २ को प्याकेज गर्नुपर्छ, माधव कमरेडसँग कुरा गरेर।

दुवै जना हामीले मान्दै आएको नेता हो। पार्टीलाई कसरी लिएर अगाडि जाने भन्ने टुङ्गोमा उहाँहरू पुग्नुपर्छ। त्यसो हुँदा हामी एकताबद्ध भएर अगाडि बढ्न सक्छौं।

जेठ २ मा अध्यक्ष ओली फर्किनु भएन भने तपाईंहरूको पक्षमा चाहिँ केन्द्रीय कमिटी र स्थायी कमिटी सदस्य थपिने अवस्था भए तपाईंहरू जेठ ३ मा फर्किनुहुन्छ?

होइन, ओली कमरेड जेठ २ मा आउँदा उहाँको के बिग्रिन्छ? चाहियो नि जवाफ। उहाँलाई के नोक्सान हुन्छ? नोक्सान हुने भए भन्न सक्नुपर्यो। सिंगो कम्युनिस्ट आन्दोलनका लागि आफ्नो स्वार्थ त त्याग्नुपर्यो नि। हामीले बनाउन चाहेको नेकपा एमाले हो। त्यसका लागि मिलनविन्दु जेठ २ हो, ३ होइन। मिलनविन्दुमा बसेर छलफल भएपछि बाँकी गर्ने निर्णय हुन्छ।

जेठ २० गते केन्द्रविन्दुसँगको अन्तर्वार्तामा तपाईंले ‘हामीलाई नयाँ पार्टी खोल्दा दुःख त हुन्छ, जे भए पनि हामी अगाडि बढ्ने भयौं’ भन्नु भएको थियो। अब, नयाँ पार्टी खोल्ने भन्ने ‘च्याप्टर क्लोज’ भएको हो?

नयाँ पार्टी बनाएर अगाडि बढ्ने हाम्रो रहर होइन, विल्कुल रहर होइन। नयाँ पार्टी खोलेपछि त्याग, दुःख सबै एकैसाथ सुरु हुन्छ। तर, एमालेलाई बनाउँदा हाम्रो त दशकौं बित्यो। जिन्दगी बित्यो। त्याग गरिएको छ। दुःख गरिएको छ। सम्पूर्ण छोडिएको छ। कम्युनिस्ट आन्दोलन भनेर सिंगो जीवन समपर्ण गरेका छौं। मैले मात्रै होइन। सबै नेता कार्यकर्ताले गरेका छन्। कसरी पार्टी निर्माण गरेर बचाउँदै ल्यायो होला? ती तमाम् कुराहरू छन्। त्यसले गर्दा पहिलो कुरा एमाले भन्ने बित्तिकै हाम्रो मन प्रफुल्लित हुन्छ। नयाँ पार्टीमा हुँदैन। त्यसैले नयाँ पार्टी बाध्यतामा मात्रै हुन्छ। ओली कमरेडले मिल्न पटक्कै नचाहेको अवस्थामा विकल्प के त? नयाँ पार्टी नै हो। हामी त्यत्तिकै सिद्धिने त? होइन नि। त्यस्तो अवस्थामा त हामीले बाध्य भएर नयाँ पार्टी खोल्नुपर्छ। अलिकति मिहेनत र दुःख होला। तर, सक्छौं। कुनै गाह्रो छैन।

यति भन्दाभन्दै नेकपा एमालेमा त हाम्रो हालसम्मको सम्पूर्ण दुःख, कष्ट सबै छ। अनि, म फेरि भन्छु–एमाले केपी कमरेडको मात्रै पार्टी होइन यो। जति पनि ‘म नेकपा एमाले’ भनेर बस्नु भएको छ, उहाँहरू सबैको पार्टी हो। त्यसले गर्दा सजिलो छैन, नेकपा एमाले त्याग्न। त्यसो भएकोले हामी एमालेमै रहेर वैचारिक संघर्ष गर्न चाहन्छौं। एमालेलाई बलियो बनाउन चाहन्छौं। ओली कमरेडसँगै जुनजुन नेताको गलत कुरा छ, सच्याउँदै, सुदृढ गर्दै, वैचारिक संघर्ष गर्दै, नयाँ ढंगले एमालेलाई सुदृढ एकताका साथ अगाडि बढ्न चाहन्छौं। हुँदै भएन भने यत्तिकै चाहिँ हामी सिद्धिन चाहँदैनौं। हामीसँग अझै पनि जोश छ। जाँगर छ। अझै पनि कम्युनिस्ट आन्दोलनलाई बचाउनुपर्छ भन्ने इमान्दार ठूलो पार्टी पंक्ति छ। अनि, लोकतन्त्र बचाउनुपर्छ भन्ने पंक्ति हामीसँग छ। त्यो पंक्तिलाई निराश पार्नु त भएन नि।

Logo