के ‘केभिन डी ब्रुएन’ विश्वकै उत्कृष्ट फुटबलर हुन् ?

के ‘केभिन डी ब्रुएन’ विश्वकै उत्कृष्ट फुटबलर हुन् ?

केन्द्रबिन्दु
0
Shares

यतिबेला विश्व फुटबलमय छ। यूरोपमा मिनि विश्वकपका रुपमा चिनिएको युरो कपको सोह्रौं संस्करण चलिरहेको छ भने दक्षिण अमेरिकामा ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिता चलिरहेको छ। 

विश्व फुटबलका केही महान् खेलाडी यतिबेला मैदानमा आफ्नो कौशल देखाइरहेका छन्। महान् भन्ने बित्तिकै सबैको मुखमा आउने पहिलो नाम हो, अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिष्टियानो रोनाल्डो। त्यसपछि धेरैले ब्राजिलका नेयमारको पनि नाम लिने गरेका छन्। 

तर, यी बाहेक एकजना खेलाडी यस्ता छन्, जसको नाम विश्वभरका फुटबल फ्यानहरुले नछुटाइ लिने गरेका छन्। ती हुन् बेल्जियमका एट्याकिगं मिडफिल्डर केभिन डी ब्रुएन।

मैदानमा डी ब्रुएनको उपस्थिती कति महत्वपूर्ण छ भन्ने पुष्टि बिहीवार रातिको बेल्जियम र डेनमार्कबीचको खेलबाट भएको छ । पहिलो हाफको सुरुमै एक गोलले पछि परिरहेको बेल्जियमलाई दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेर डी ब्रुएनले उद्धार मात्र गरेनन्, प्रभावशाली जीतसमेत दिलाए। बेल्जियमको जितमा उनले पहिलो गोलका लागि पास मिलाइदिएका थिए भने दोस्रो गोल आफैं डी एरियाबाट कडा प्रहार गर्दै गरेका थिए। 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट ब्यवसायिक फुटबल खेलिरहेका डी ब्रुएन अहिलेको आधुनिक फुटबलमा एसिष्ट किंगका रुपमा चिनिन्छन्। एसिष्ट अर्थात् गोल हान्नका लागि अन्तिम पास मिलाइदिने अवसर। फुटबल मैदानमा उनी यसैका लागि प्रख्यात छन्।

अघिल्लो वर्ष फ्रान्सको प्रख्यात फुटबल म्यागेजिन एल इक्विपले विश्वभर गरेको सर्वेक्षणले मेस्सी र रोनाल्डोभन्दा डी ब्रुएन ठूला फुटबल स्टार बन्दै गरेको र उनी फिफा बेलुन डी ओर जित्न सक्षम रहेको देखाएको थियो। उनले मैदानमा गर्ने गरेको प्रदर्शनले उक्त सर्वेक्षणलाई न्याय गर्दै गइरहेको छ। 

डी ब्रुएनको उदय
६ वर्षअघि डी ब्रुएन अर्को इंग्लिस प्रिमियर लिग क्लब चेल्सिसँग आवद्ध थिए। चेल्सिमा छँदा उनले टोलीको शुरुवाती एघारमा कहिले पनि मौका पाएनन्। चेल्सिमा केही वर्ष बसेपछि उनी टोलीको पहिलो रोजाइमा पर्ने आशामा जर्मन बुण्डेस लीगा क्लब वुल्भ्सवर्ग जाने निधो गरे। 

वुल्भ्सवर्गले डी ब्रुएनको क्षमतालाई पहिलो दिनदेखि नै चिन्यो र सोही अनुरुप शुरुवाती एघारमा मौका दियो। उनले उक्त क्लबबाट पहिलो सिजनमै सर्वाधिक एसिष्टको बुण्डेस लीगाको रेर्कड तोडे। यस्तो जादुयी प्रदर्शनपछि उनी म्यानचेष्टर सिटीको नजरमा परे। 

इंग्लिस क्लब सिटीले उनलाई सन् २०१५ मा आफ्नो सबैभन्दा महंगो खेलाडीका रुपमा ६ करोड युरो तिरेर भित्र्यायो। त्यसपछि डी ब्रुएनले प्रिमियर लिगमा मात्र होइन, पुरा युरोपभरी आफ्नो प्रभाव जमाउन थाले। 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर सिटीबाट ब्यवसायिक फुटबल खेलिरहेका डी ब्रुएन अहिलेको आधुनिक फुटबलमा एसिष्ट किंगका रुपमा चिनिन्छन्।

उनी अहिलेसम्म युरोपको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको चार सिजनमा उत्कृष्ट एघार खेलाडीको सूचीमा परिसकेका छन्। त्यो बाहेक उनले प्रिमियर लिगमा दुई सिजन प्लेमेकर अफ द सिजन तथा एकपटक सिजनकै सर्बोकृष्ट खेलाडीको उपाधी जितिसकेका छन्। 

उनी सिटी आए यता क्लबले उनकै प्रेरणामा पछिल्लो पाँच वर्षमा तीन पटक प्रिमियर लिगको उपाधी जितिसकेको छ भने यसक्रममा पाँच पटक लिग कपको उपाधी र एकपटक एफ ए कपको उपाधी उठाइसकेको छ।   

बेल्जियमको राष्ट्रिय टोलीबाट पनि उनले जादुयी खेल पस्कने गरेका छन्। सन् २०१४ को विश्वकप, २०१६ को युरोकप, २०१८ को विश्वकप र अहिले जारी युरोकपजस्ता ठूला प्रतियोगितामा उनले लगातार बेल्जियमका लागि गोलका अवसर सिर्जना गरेका छन्।

सन् २०१८ को विश्वकपमा त उनी ड्रिम टिममै पर्न सफल भएका थिए। उक्त विश्वकपमा उनकै उत्कृष्ट प्रदर्शनको सहयोगमा बेल्जियनले तेस्रो स्थान हात पारेको थियो। त्यही वर्ष बेल्जियम सरकारले उनलाई मुलुककै वर्ष खेलाडीको उपाधीसमेत दिएको थियो। 

अहिले जारी युरोकप २०२० मा बेल्जियम उनकै प्रदर्शनमाथि निर्भर छ। तर बेल्जियमको राष्ट्रिय टोलीमा उनी जस्तै स्टार खेलाडीको कमी छैन। 

रियल मड्रिडबाट खेल्ने इडेन हजार्ड, इन्टर मिलानबाट खेल्ने रोमेलु लुकाकु, नापोलीबाट खेल्ने ड्रेज मर्टेन्स, लेष्टर सिटीबाट खेल्ने युरी टिलेमन्स लगायतका खेलाडी बेल्जियम फुटबलको सुनौला पुस्ताका रुपमा रहेका छन्। 

यो पुस्ताले बेल्जियमलाई युरोकप, विश्वकपजस्ता ठूला प्रतियोगिताको उपाधी जिताउने आशा गरिएको छ। डी ब्रुएनले पनि युरोकप २०२० अघि अब बेल्जियमका लागि ठूलो उपाधी जित्नैपर्ने समय आएको बताएका थिए। 

बिहीवार राति यिनै डी ब्रुएनको प्रेरणादायी प्रदर्शनमा बेल्जियमले खेलमा पछि परेको स्थितिलाई उल्टाउँदै डेनमार्कविरुद्ध दुई–एकको उत्कृष्ट जीत दर्ता गरेको छ। 

यस्तै प्रदर्शन काम राखे फिफा वरियतामा विश्वकै पहिलो स्थानको टोली बेल्जियमले यसपटक ठूला प्रतियोगिताको उपाधी नजित्ला भन्न सकिन्न।

Logo