सप्तरीमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु, रुपनी बन्द

सप्तरीमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु, रुपनी बन्द

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।
सप्तरीमा आइतबार थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुर्ख्यौली घर भई हाल राजविराज नगरपालिका–६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आइतबार बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो । यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।

रुपनी बन्द
रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गाउँपालिकाका कम्प्युटर सहायक र कार्यालय सहायकमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।

असोज २१ गते ४ नं वडाध्यक्षमा कोरोना पुष्टि भएको थियो । राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा वडाध्यक्षका छोरा र छोरीमा समेत सङ्क्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार गत बिहीबार मृत्यु भएका आठराई गाउँपालिका, तेह्रथुममा कार्यरत सबओभरसियर रुपनी–१ का ३७ वर्षीय पुरुषका श्रीमती, साला र भिनाजुमा समेत कोरोना सङ्क्रमण देखिएको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोनाको जोखिम बढेकाले सबै कर्मचारीको पिसिआर परीक्षण गराउनु पर्ने उनले बताए ।

Logo