नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताएका छन्।
शनिबार नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा कुरा गर्दै अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्ने कुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताएका हुन्। उनले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पुर्याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई स्वयंसेवी भाव जगाउने पनि बताए।
उनले भने,–‘स्काउटको संरचना स्थानीय तहसम्म गएको छ। विद्यालयमा स्काउट पुर्याउने काम बजेटमै आएको छ। पाठ्यपुस्तकमै ६ कक्षामा आइसकेको छ। अब शिक्षकहरुलाई तालिम दिने र उनीहरुले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयंवी भाव जगाउने, सवल व्यक्ति, सक्षम व्यक्ति बन्नका लागि सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउने, नैतिक शिक्षा दिन्छौँ तल्लो तहमा। आदरभाव सिकाउँछौँ।’
अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताए। समाजमा स्वयंसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयंसेवी बनाउने गरेको उनले बताए।
केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाएको छ। देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पुर्याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयंसेवी भूमिका खेलेको छ।































प्रतिक्रिया