रहेनन् ‘फ्लाइङ शिख’ मिल्खा सिँह

रहेनन् ‘फ्लाइङ शिख’ मिल्खा सिँह

केन्द्रबिन्दु
0
Shares

(((एकचोटि मिल्खा सिँह आफ्नो सामान चोरेर भागेको मानिसलाई खेदाउँदै रहेछन्। त्यसैबेला एक मानिसले उनलाई रोकेछन्।
मानिसः कहाँ दौडेको? के भयो?
मिल्खाः एउटाले मेरो सामान चोर्याे। पक्डिनलाई पिछा गर्दैछु।
मानिसः मैले त यहाँबाट कोहि पनि दौडिँदै गएको देखिन।
मिल्खाः त्यसो भए मैले चोरलाई पछाडि नै छोडेँ होला।)))

यो एउटा चुट्किला अवश्य हो, तर त्यो भन्दा बढी मिल्खा सिँहको परिचय हो। 
भारतका बहुप्रतिष्ठित धावक मिल्खा सिँहको ९१ वर्षको उमेरमा कोभिड–१९ का कारण शुक्रबार राति निधन भएपछि उनको सम्झनामा सामाजिक सञ्जालमा वर्षौँदेखि उनको नाममा चल्दै आएका यस्तै चुट्किला शेयर गरेर उनका फ्यानहरूले उनलाई सम्झँदै छन्। 

मे महिनामा कोभिड–१९ बाट संक्रमित भएका सिँहले यसै साता पत्नी एवम् भारतको महिला भलिबल टिमकी पूर्व कप्तान निर्मल कौरलाई ८५ वर्षका उमेरमा गुमाएका थिए।

भारत–पाकिस्तानको पार्टिसन हुनुपूर्व ब्रिटिश इन्डियाको पञ्जाब प्रान्तमा रहेको गोविन्दपुरा (हाल पाकिस्तानको मुजफ्फरगढ) मा सिँहको जन्म भएको थियो। पार्टिसनको समयमा सुरु भएको दङ्गामा उनका बुवाआमा र परिवारका अन्य सात जनाको हत्या भयो। हत्या हुँदै गरेका बाबुले आफूलाई ‘भाग मिल्खा भाग’ (नेपालीमा ‘दौड मिल्खा दौड’) भनेको उनले स्मरण गरेका छन्। उनी सानो छँदा ज्यान जोगाउन दौडिए, ठूलो भएपछि प्रतिस्पर्धा जित्न। 

अनाथ भएपछि पाकिस्तानबाट भागेर भारत आएका सिँह केही समय सानातिना अपराधमा संलग्न भए। उनी भारतीय सेनामा गएपछि भने राम्रो खेलाडीको रूपमा आफूलाई विकसित गर्न थाले। 

मिल्खा सिँह भारतीय खेलप्रेमी मात्रै नभई सर्वसाधारणबीच पनि यति धेरै चर्चित थिए कि उनकै जीवनकथामा आधारित फिल्म ‘भाग मिल्खा भाग’ सन् २०१३ मा बन्यो अनि सफल पनि भयो।

पाकिस्तानबाट भागेर भारत गएका सिँहलाई १९६० मा पाकिस्तानमा आयोजित एक खेलकुद प्रतियोगितामा २०० मिटर दौडमा भाग लिन निमन्त्रित गरियो। दुःखद अतितका कारण उनले सुरुमा पाकिस्तान जान इन्कार गरे, तर पछि राजी भए। 

उनका मुख्य प्रतिद्वन्द्वी पाकिस्तानका अब्दुल खालिकलाई घरेलु मैदानमा हराउँदै उनले स्वर्णपदक जिते। खेल सकिएपछि उनलाई पाकिस्तानका राष्ट्रपति अयुब खानले पदक प्रदान गर्दै गर्दा ‘फ्लाइङ शिख’ को उपनाम दिएका थिए, जुन उनको चिनारी बन्यो।

उनी सानो छँदा ज्यान जोगाउन दौडिए, ठूलो भएपछि प्रतिस्पर्धा जित्न। 

भारतलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा ५ स्वर्ण पदक जिताएका सिँहले उत्कृष्ट खेलाडीहरूलाई प्रदान गरिने हेल्म्स ट्रफि पनि जितेका थिए। उनले १९५८ को कमनवेल्थ गेम्समा भारतको पहिलो स्वर्ण पनि जितेका थिए। ‘फ्लाइङ शिख’ का उपनामले चिनिने मिल्खा सिँहले भारतका लागि एसियाली खेलमा मात्रै चार स्वर्ण पदक जितेका थिए। त्यस पश्चात १९६० को रोम ओलम्पिकमा ४०० मिटर दौडमा उनी चौथो भए।

ओलम्पिकमा उनको क्षमता र उनीमाथिको अपेक्षा अनुरुपको प्रदर्शन गर्न नसके पनि मिल्खा सिँह भारतको खेलकुद जगतको पछिल्लो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सफल भए। कुनै पनि देशका लागि अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थिती दर्शाउन खेलकुदमा सफलता महत्वपूर्ण मानिन्छ। मिल्खाले भारतका लागि त्यस्तो सफलताको रोडम्याप तयार पारिदिएका थिए।

Skip This
Skip This
Logo