गत साताको अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीलगायत आसपासका क्षेत्रमा जनधनको ठूलो क्षति भएपछि काभ्रेका तीन स्थानीय तहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। जिल्लाको पनौती नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाले सहयोग गरेका हुन्।
पनौती नगरले मेलम्चीका बाढीपीडितका लागि राहतस्वरुप रु १० लाख आर्थिक सहयोग गरेको छ। बाढीका कारण सङ्कटमा परेका स्थानीयवासीलाई पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मेलम्ची नगरपालिकालाई १० लाख सहयोग दिने निर्णय गरिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताए। “छिमेकी जिल्लामा दुःखद् घटना हुँदा नगरको सहयोगले मेलम्चीमा केही राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने।
मण्डनदेउपुर नगरले मेलम्चीलगायत सिन्धुपाल्चोकका बाढी प्रभावित तीन स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ। नगरप्रमुख टोकबहादुर वाइबाले मेलम्ची नगरको ‘मेलम्ची बाढीपीडित तथा पुनःस्थापना कोष’मा रु तीन लाख ५१ हजार, हेलम्बु गाउँपालिकालाई रु तीन लाख र थाङपालधाप गाउँपालिकाको कोषमा रु तीन लाख आर्थिक सहयोग गरेको जानकारी दिए।
यस्तै नमोबुद्ध नगरले पनि पालिका–पालिकाबीच सहयोगको नयाँ शुरुआत भएको जनाउँदै मेलम्ची नगरलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेको छ। नगरका जनप्रतिनिधि र कर्मचारीको सेवा–सुविधा तथा प्रकोप व्यवस्थापन विशेष कोषबाट रु तीन लाख तीन हजार ३३३ तथा ६०० केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको हो। “मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्छ, त्यसैले सहयोग गर्याैं”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भने।
मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीका कारण मेलम्चीलगायत आसपास क्षेत्रमा जनधनको ठूलो क्षति पुर्याएको थियो। पछिल्लो विवरणअनुसार हालसम्म बाढीमा तीन जनाको शव फेलापरेको छ भने मेलम्ची बजारका दर्जनाैं घर डुबानका परेका छन्। दर्जनभन्दा बढी मानिस हराइरहेको जनाइएको छ। स्थानीय सार्वजनिक संस्था क्षतविक्षत भएका छन्।
टोखाले २० लाख सहयोग गर्ने
काठमाडौँकाे टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७०औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिराबाट पीडित जनतालाई राहत र उद्धारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो।
नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिराले पुर्याएको क्षति तथा उद्धारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको राससलाई जानकारी दिइन्। “मेलम्ची नै काठमाडौँ उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो स्थानमा विपद् पर्दा नगरपालिकाले थोरै भए पनि सहयोग गर्ने उद्देश्यले उक्त राहत प्याकेज घोषणा गरेका हौँ”, उनले भनिन्।
टोखाले घोषणा गरेको राहत प्याकेजमध्ये हेलम्बु गाउँपालिकालाई रु १० लाख र मेलम्ची नगरपालिकालाई रु १० लाख रहेको छ। बुधबार राति आएको बाढीले मेलम्ची बजार डुबानमा पर्नुका साथै ठूलो जनधनको क्षति भएको थियो। यस्तै टोखा नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम बुधबार नगरसभामा पेश गर्ने कार्यक्रम रहेको छ।रासस





























प्रतिक्रिया