मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

केन्द्रबिन्दु
0
Shares

सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ। लगानी बोर्डको मंगलबार बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत गरेको हो।

बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डिपिआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमतिसमेत प्राप्त भएको छ।

बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ। सो आयोजनाको कूल लगानी करिब रु ६४ अर्ब (५४ करोड अमेरिकी डलर) रहेको छ। सो आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ। यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ। सो आयोजनाको कूल क्षमता १३९.२ मेगावाट रहेको छ।

यस्तै, बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इण्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ। सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ।

बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ।
 सो समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ। त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेशमार्ग अन्तर्गत रहेको छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए। त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गरेको प्रवक्ता बरालले जानकारी दिए।रासस

Skip This
Skip This
Logo