ज्वाला पक्षले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ हुँदै

ज्वाला पक्षले दिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं प्रहरीको हिरासतमा रहेकी ज्वाला भनिने टीका संग्रौला पक्ष निवेदक रहेको बन्दीप्रत्क्षीकरण मुद्दाको आज सुनुवाइ हुँदैछ। न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा भिडियो कन्फेरिन्सङमार्फत् मुद्दाको सुनुवाइ भइरहेको छ। 

गैरकानूनी रूपमा प्रहरीले पक्राउ गरेको भन्दै संग्रौला पक्षले गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बुधबार बन्दीप्रत्यक्षीकरण मुद्दा सर्वोच्चमा दर्ता गराएको थियो।

संग्रौलासँगै उनका श्रीमान हिमाल उपाध्याय र शर्मिला वाइबा घिमिरेमाथि अभद्र व्यवहारको आरोपमा सोमबार पक्राउ परेका हुन्।

संग्रौलाले महाराजगञ्जमा कार्यरत ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएपछि उनीमाथि कारबाहीको माग उठेको अवस्थामा घिमिरेले पुरानो घटनालाई लिएर प्रहरीमा जाहेरी दिएकी थिइन्।

उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताएका छन्।

घिमिरे र संग्रौलाबीच फेसबुकमा लेखेको स्टाटसलाई लिएर विवाद भएको थियो। सोही कारण उनीहरू १६ जेठमा महानगरीय प्रहरी वृत्त गौसला पुगेको र डीएसपी जितेन्द्र बस्नेतले छलफल गराउँदै गर्दा संग्रौलासहित उनका श्रीमान हिमाल र शर्मिलाले कुटपिट गरेको अनुसन्धानको क्रममा खुलेको छ।

तर, उक्त घटना प्रहरीमै मेलमिलाप गरिएकोमा असई झालाई रंगभेदी अभिव्यक्ति दिएपछि कारबाहीको माग संग्रौलामाथि उठ्दा घिमिरे प्रहरीमा पुगेकी हुन्।

Logo