नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोवार सत्र (प्रिओपनिङ)को मूल्य सीमा र धितोपत्रको कारोवारमा न्यूनतम मूल्य परिवर्तन सीमामा नयाँ व्यवस्था गरेको छ।
बोर्डले यस अघि दोश्रो बजारको प्रारम्भिक कारोवार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकोमा सो सीमालाई घटाई २ प्रतिशत कायम गरेको छ । हाल प्रिओपनिङमा ५ प्रतिशतको घढबढको सीमा राख्दा बजारमा बढी अस्थिरता आएको भन्दै बोर्डले उक्त सीमा घटाएको जनाएको छ।
बोर्डले दोश्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि परिवर्तन गरेको छ । हाल उक्त सीमा १ रुपैयाँ रहेकोमा सो लाई घटाई १० पैसा कायम गरेको बोर्डले जानकारी दिएको छ।
यसैगरी बोर्डले धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन धितोपत्र कारोवार संचालन विनियमावली, २०७८ स्वीकृत गरेको छ।
प्रारम्भिक सत्रमा कारोवार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा हुने गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको बोर्डले जानकारी दिएको छ।
बोर्डका अनुसार उक्त व्यवस्था कार्यान्वयनमा आए पश्चात् प्रारम्भिक कारोवार सत्र थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सकिने छ।






























प्रतिक्रिया