प्रधानमन्त्रीले उठाए सर्वोच्चको न्यायसम्पादन र निष्पक्षतामाथि प्रश्न (भिडियोसहित)

प्रधानमन्त्रीले उठाए सर्वोच्चको न्यायसम्पादन र निष्पक्षतामाथि प्रश्न (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको न्याय सम्पादन र निष्पक्षतामाथि प्रश्न उठाएका छन् । हालै आफूले विस्तार गरेको मन्त्रिपरिषद्लाई बदर गर्ने अदालतको आदेशका सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति र सर्वोच्चको आदेशबीचको तालमेललाई लिएर शंका व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको भन्दै त्यसप्रति पनि आपत्ती जनाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ मा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि परेका विभिन्न रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवारदेखि निरन्तर अन्तिम सुनुवाइ हुने प्रक्रिया जारी छ। जसमा शुक्रबार, देउवासहित १ सय ४६ सांसदका वकिलहरू टीकाराम भट्टराई, दिनमणी पोखरेल, कृष्णभक्त घिमिरे लगायतले बहस गरेका छन्। आजको बहसमा अधिवक्ताहरूले अब, न्यायालयले राष्ट्रपतिलाई महाअभियोगदेखि उनका निर्णयमा हस्तक्षेपसम्मको माग अघि सारेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापित परिवारका लागि आधारभूत आवश्यकता पूरा गरिदिन सम्बन्धीत कार्यालयहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्रीले बाढी पहिरोबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताउँदै बाँकी काम सम्बन्धीत कार्यालयहरूलाई पूरा गर्न निर्देशन दिएका हुन्। यसैबीच आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ ।

यातायात व्यावसायीहरूले व्यावसाय संकटमा परेका भन्दै सरकारसँग कोभिडको खोप र व्यवसाय सञ्चालनका लागि आग्रह गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनका प्रतिनिधिले संयुक्तरुपमा सरसकारसँग यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् । करिब १० खर्ब लगानी रहेको यातायात क्षेत्र कोरोना असरका कारण धरासायी बनेको छ भने,  झण्डै ११ लाख यातायात मजदूरको रोजगारी जोखिममा पुगको छ। 

नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएसँगै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिएको छ। सिरिजका लागि नेपालले कीर्तिपुरस्थित टियु मैदानमा गत मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि खेलाडी र प्रशिक्षकसँगको छलफलपछि टिमको तयारी केहि समय रोक्ने निर्णय गरेको क्यानले जनाएको छ। राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण भने असार १७ गतेबाट सुरु हुँदैछ। 

Logo