सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिवाना छुट भएन

सवारी अनुमतिपत्र नवीकरण गर्दा निषेधाज्ञाको जरिवाना छुट भएन

केन्द्रबिन्दु
0
Shares

सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समयमा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिवाना लिन थालेको छ। निषेधाज्ञामा सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध गरेको सरकारले अहिले आएर सो समय म्याद सकिएका सवारी चालक अनुमतिपत्रको हकमा जरिवाना छुट गरेको छैन।

बाग्मती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ललितपुरले मंगलबार सूचना जारी गर्दै अनुमतिपत्र नवीकरण, ट्रायल पास, राजस्व संकलन, सवारी चालक अनुमतिपत्र वितरण कार्य सुरु गरेको छ। कार्यालयले सूचनामा नै निषेधाज्ञा अवधिमा सवारी चालक अनुमतिपत्रको अन्तिम म्याद सकेर जरिवाना लागेको भए जरिवाना छुटसम्बन्धी कुनै निर्णय नभइञ्जेल नियमानुसार जरिवाना लिई नवीकरण गरिने उल्लेख गरेको छ।

निषेधाज्ञाको ५४ दिनपछि अन्य यातायात कार्यालयले सेवा पुनः सुरु गरेका छन् । तर, उनीहरूले पनि निषेधाज्ञा अवधिको छुट व्यवस्था गरेका छैनन्। सबै कार्यालयले छुटसम्बन्धी कुनै व्यवस्था नभएको भन्दै निषेधाज्ञा अवधिकाे छुट दिएका छैनन्। सम्बन्धित मन्त्रालय तथा विभागले समेत यसमा कुनै निर्णय गरेका छैनन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठूलो भ-याङले मंगलबारदेखि सेवा सुरु गरेको छ।

सो कार्यालयले सवारी चालक अनुमतिपत्र नवीरकणका लागि ७०, ट्रायल परीक्षा उत्तीर्ण परीक्षार्थीको राजस्व कोटा ७०, सवारीचालक अनुमतिपत्र वितरण २ सय कोटा निर्धारण गरेको छ। ललितपुर कार्यालयले अनुमतिपत्र नवीकरणका लागि सय, ट्रायल पास राजस्व संकलनका लागि सय र सवारी चालक अनुमतिपत्र वितरणका लागि दुई सय कोटा निर्धारण गरेर शुक्रबारदेखि सेवा सुरु गर्ने जनाएको छ।

सरकारले गत १६ वैशाखदेखि जारी निषेधाज्ञा सोमबारदेखि खुकुलो बनाइएको हो। सोमबारदेखि नै सरकारले निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा खुल्ला गरेको छ। सार्वजनिक यातायात भने अझै खुलेका छैनन्।राजधानीबाट

Logo