यी हुन् कोपा अमेरिका जित्न सक्ने दाबेदार ४ टिम (भिडियोसहित)

यी हुन् कोपा अमेरिका जित्न सक्ने दाबेदार ४ टिम (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हरेक चार वर्षमा आयोजना हुने दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२० जारी छ।

सन् २०२० मै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। सुरुमा प्रतियोगिता आयोजनाको जिम्मेवारी अर्जेन्टिना र कोलम्बियाले लिए पनि अन्तिम समयमा उनीहरूले हात झिकेपछि ब्राजिलले पाएको थियो। कोपामा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली, पाराग्वे, कोलम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेइडर र पेरु सहभागी छन्। 

सन् १९१६ बाट सुरु भएको १ सय ५ वर्ष पुरानो यस प्रतियोगिता सन् १९७५ सम्म दक्षिण अमेरिकी फुटबल प्रतियोगिताका रूपमा परिचित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा रहेको थियो। यसलाई सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय महाद्विपीय फुटबल प्रतियोगितासमेत मान्ने गरिन्छ।

यो अन्तर्राष्ट्रिय स्तरमा हालसम्म सर्वाधिक आयोजित प्रतियोगिता हो। यसले प्रमुख फुटबल भिडन्त फिफा विश्वकपलाई समेत उछिनेको छ। 

सन् १९९० को दशकदेखि दक्षिण अमेरिकी फुटबल संघमा आबद्ध १० टोलीबाहेक यसमा उत्तरी अमेरिका, मध्य अमेरिका, क्यारिबियन र फुटबल संघमा आबद्ध राष्ट्रलाई पनि खेलमा सहभागी बन्न निमन्त्रणा दिने गरिन्छ। यसपालि पनि कतार र अस्ट्रेलियालाई निमन्त्रणा दिइए पनि ती टिम सहभागी भएनन्। हालसम्म दक्षिण अमेरिकी देशबाहेक अन्य मुलुकले उपाधि हात पार्न सकेका छैनन्।

प्रतियोेगिताको उपाधि हालसम्म दक्षिण अमेरिकी फुटबल संघमा आबद्ध १० टोलीमध्ये आठ राष्ट्रिय टोलीले जित्न सफल भएका छन्, जसमा फुटबलका महाशक्ति मानिएका उरुग्वेले १४ पटक, अर्जेन्टिनाले १४ पटक र ब्राजिलले ९ पटक उपाधि कब्जा गरेका छन्। यसका अतिरिक्त चिली, पराग्वे र पेरुले दुई–दुई पटक यसको उपाधि चुमेका छन् भने बोलिभिया र कोलम्बियाले एक–एक पटक उपाधि हात पारेका छन् । यद्यपि, कोपा अमेरिका २०२० कुन टिमले जित्ला भन्ने सबैको चासोको विषय बनेको छ। 

आज हामी कोपा अमेरिका २०२० जित्न सक्ने ४ दाबेदार टिमको बारेमा चर्चा गर्न गइरहेका छौं।

१. ब्राजिल 
कोपा अमेरिकाको साविक विजेता टोली ब्राजिल यस सिजनमा पनि उच्च मनोबलमा रहेको छ। ब्राजिलमा सञ्चालन भइरहेको कोपा अमेरिका २०२० गत सिजनमा पनि ब्राजिलमै आयोजना भएको थियो। गत सिजन घरेलु मैदानमा उपाधि चुमेको ब्राजिल यस सिजनमा पनि उपाधि जित्ने होडमा रहेको छ। 

ब्राजिल कोपा अमेरिकाको ९ पटक विजेता तथा ११ पटक उपविजेता बनिसकको छ । ९ पटक उपाधि उचालिसकेकोे ब्राजिलले आफ्नो अनुभव यस सिजन पनि सदुपयोग गर्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । जारी कोपा अमेरिकाको समूह बी मा रहेको ब्राजिलले आफ्नो समूह चरणको तीन खेलमै शतप्रतिशत जित निकालेको छ। जित निकाल्ने क्रममा ब्राजिलले भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै पेरुसँगको खेलमा ४–० गोल गरेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहेको छ।  

ब्राजिलको टिममा नेयमार, कासमिरो, रिनान लोडी, फिर्मिन्हो, एलेक्स सान्ड्रो,एभर्टन रिबेरो,टियागो सिल्भा, रिचार्लीसन, ग्राबियल जिसस, बार्बोसाजस्ता अनुभवी खेलाडी छन्। 

२. अर्जेन्टिना 
सन् १८९३ मा स्थापना भएको अर्जेन्टिना फुटबल संघ सन् १९२१ मा दक्षिण अमेरिकी फुटबल संघमा आबद्ध भएको थियो। आबद्ध भएको एक वर्षपछि अर्जेन्टिनाले पहिलो पटक प्रतियोगिताको उपाधि हात पारेको थियो। 

सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको पहिलो फिफा विश्वकपपछि उरुग्वे र अर्जेन्टिनाको फुटबल महासंघबीचको दुश्मनीले यस प्रतिस्पर्धा धेरै वर्षसम्म रोकिएको थियो। सन् १९३५ मा मात्र प्रतियोगिता विशेष संस्करणलाई आधिकारिक रूपमा सन् १९३९ मा पुनःस्थापित गर्न सम्भव भएको थियो । त्यसपछि अर्जेन्टिनाले सन् १९३६, १९४५, र सन् १९४७ का संस्करणहरूमा लगातार हैकम जमाएको थियो। हालसम्म अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १४ पटक जितिसकेको छ  भने सर्वाधिक १३ पटक उपविजेतासमेत बनिसकेको छ। 

लियोनल मेसी सम्मिलित यस टिमले कोपा अमेरिका २०२० मा उपाधि जित्न सक्ने दाबेदारका रुपमा प्रदर्शन गरिरहेको छ। प्रतियोगिताको समूह ए मा रहेको अर्जेन्टिनाले आफ्नो समूह चरणको तीन खेल खेलिसकेको छ। दुई खेलमा जित निकालेको अर्जेन्टिनाले एक खेल भने बराबरी खेलेको छ, जसमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै उरुग्वेलाई १–० गोलले पराजित गरेको अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको थियो। 

अर्जेन्टिना समूह ए को शीर्ष स्थानमासमेत रहेको छ। शीर्ष स्थान बनाउने क्रममा अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ। योसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गराइसकेको छ। 

अर्जेन्टिना टिम अनुभबी खेलाडीहरु लियोनल मेसी, सर्जियो अग्वुइरो, अलेस्यान्द्रो गोमेज, एन्जेल डि मारिया, गुइडो रोड्रिगेज, पाउलो डेबाला, लौटारोमार्टिनेज, जोभानीलो सेल्सीले भरिएको छ । 

३. उरुग्वे 
सन् १९१६ मा सुरु भएको यस कोपा अमेरिकाको पहिलो उपाधि जित्ने टिम हो उरुग्वे। अर्जेन्टिनामा आयोजित उक्त प्रतियोगितामा चिली, उरुग्वे अर्जेन्टिना र पाराग्वे सहभागी भएका थिए। हाल कोपा अमेरिकाको नामले प्रचलित यस प्रतियोगितालाई तत्कालीन समयमा यसलाई काम्पेओनातो सुदआमेरिकानो दे फुतबोलका रुपमा परिचित थियो। 

अर्को वर्ष प्रतियोगिता फेरि उरुग्वेमा आयोजित गरिएको थियो। प्रतियोगिताको अन्तिम खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै उरुग्वेले फेरि अर्को पटक उपाधि जितेको थियो। उरुग्वेको सफलताले यस प्रतिस्पर्धालाई थप एकीकृत गर्न मद्दत गरेको थियो । लगत्तैको वर्षहरूमा उरुग्वेले प्रतियोगितामा आफ्नो दबदबा राख्न सफल भएको थियो। 

कोपा अमेरिकाको १४ पटक विजेता तथा ४ पटक उपविजेता बनिसकेको उरुग्वेको पछिल्लो समयमा भने खेल खस्किएको हो कि भन्ने अनुमान गर्न सकिन्छ। प्रतियोगितामा आफ्नो दब्दबामा राखेको उरुग्वेले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। 

जारी प्रतियोगितामा पनि उरुग्वेको प्रदर्शनलाई सन्तोषजनक मान्न भने सकिन्न तर, धेरै पटक उपाधि जितिसकेको उरुग्वेलाई यतिकै आस मार्न भने सकिने अवस्था छैन। उरुग्वे प्रतियोगिताको समूह एमा रहेको छ। 

४. चिली 
चिली राष्ट्रिय पुरुष फुटबल सन् १८९५ मा स्थापना भएको थियो। यस टोलीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिनिधित्व गर्दै आएको छ। सन् १९४५ को कोपा अमेरिकामा चिलीले पहिलो पल्ट तेस्रो स्थानमा ओगटेको थियो। त्यसपछि सन् १९५५, १९५६, १९७९ र १९८७ मा दोस्रो स्थान हासिल गरेको थियो भने २०१५ र २०१६ मा चिलीले लगातार उपाधि जितेको थियो। 

जारी कोपा २०२० मा पनि चिलीले आशाजनक खेल खेलिरहेको छ। प्रतियोगिताको समूह ए मा रहेको चिलीले तिन खेलमा ५ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा बोलिभियालाई १–० ले पराजित गरेको चिली उरुग्वेसँग भने १–१ गोलको बराबरीमा सीमित भएको थियो। 

पछिल्लो समय निकै राम्रो खेल खेलिरहेको चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ। चिलीलाई उपाधि जित्न सक्ने दाबेदार टिम रुपमा समेत हेरिएको छ। उत्कृष्ट खेल प्रदर्शन गरिरहेको चिलीमा एलेक्सीस सान्चेज, एडुवार्डो भर्गास, आर्टुरो भिडाल, बेन ब्रेरेटोन, ग्यारी मेडल, इरिक पुलगरजस्ता युवा तथा अनुभवी खेलाडी रहेका छन्।  

Skip This
Skip This
Logo