केही दिन अघि लौरोको सहायतामा काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ को तेस्रो तलामा ८८ वर्षीया शुभलक्ष्मी लामा भेटिन्। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट वरिष्ठ ज्येष्ठ नागरिक विशेष भत्ता थाप्न त्यहाँ आएकी लामाको मुहारमा बिचित्रको चहक छाएको थियो। ‘९० सालमा जन्मिएकी हुँ, ८८ वर्षकी भएँ। काम गर्न सक्दिन, यो भत्ता मेरा लागि सहारा बनेको छ,’ चिम्सा आँखासहित चमकदार अनुहार बनाउँदै लामाले भनिन्, ‘मेयरज्यु र महानगरलाई धेरैधेरै धन्यवाद। हामी डाँडामाथिका घाम भइसकेकाहरुका लागि लौरोसँगै यो भत्ता पनि सहारा बनेको छ। म बहुत खुशी छु।’
त्यसो त बाथ रोगी ७८ वर्षीया श्रीमती तेजकुमारीसँगै महानगर विशेष भत्ता थाप्न वडा कार्यालय पुगेका ८० वर्षीय दिपकराज पुडासैनीको पनि मुहारमा निकै चमक थियो। एकै पटक परिवारका दुई जनाले २४ हजार भत्ता थापेपछि उत्साहित हुँदै पुडासैनीले भने,’ ‘यो भत्ता कसैलाई दिने होइन। यसले इच्छा लागेको खाने कुरा किनेर खाने हो। श्रीमती वाथ रोगी छिन्। नियमित औषधि खानुपर्छ। यहि पैसाले औषधि किन्ने हो।’
पुडासैनीले पनि लामाले जस्तै महानगरले सम्मानस्वरुप दिएको भत्ताले आफूहरु खुशी भएको बताए। पुडासैनीसँगै बसेकी तेजकुमारीले दिपकका कुरा नसकिँदै आँखा तेज बनाउँदै भने, ‘मैले पहिलो पटक महानगरपालिकाले दिएको विशेष भत्ता थाप्न पाएँ। औधी खुशी छु। यो हाम्रो उमेरका नागरिकका लागि सहारा हो।’
वडा नम्बर–१८ नरदेवीमा भत्ता थाप्न आएका ८८ वर्षीय इन्द्रलाल महर्जनको पनि खुशी लामा र पुडासैनीसँगै मिल्दो–जुल्दो छ। ८२ वर्षीया आशमाया महर्जनसँगै भेटिएका इन्द्रलालले महानगरले एकमुष्ठ दिएको १२ हजार विशेष भत्ताले नियमित सेवन गर्दै आएको औषधि किन्ने, फलफूल खाने बताए। ज्येष्ठ नागरिक अशोककुमार हुँमागाई, गुणराज सुवेदी र खड्गबहादुर पौडेलले एकै स्वरमा महानगर विशेष ज्येष्ठ नागरिक भत्ताले धेरै ठूलो सहायता भएको बताए। ‘काठमाडौँ महानगरलाई धेरैधेरै धन्यवाद र शुभकामना भन्न चाहन्छौँ,’ उनीहरुले भने, ‘काठमाडौँ महानगरले हामीलाई सम्मान गरेको छ। यो रकम भन्दा पनि हामीलाई गरेको सम्मान ठूलो कुरा हो। यस्तो सम्मानले हामीलाई अझै धेरै बर्ष बाँच्ने रहर पलाएको छ।’
काठमाडौँ महानगरका प्रमुख शाक्यले आफ्नो चुनावी घोषणपत्र अनुसार नै आफू निर्वाचित भएर आएपछि महानगरपालिका भित्रका ७५ वर्ष पुगेका जेष्ठ नागरिक महिला र ८० वर्ष पुगेका जेष्ठ नागरिक पुरुषलाई वरिष्ठ ज्येष्ठ नागरिक भत्ता दिने घोषणा गरेका थिए। महानगरले अघिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेटमै गरेको व्यवस्था अनुसार ०७७ फागुन मसान्तसम्म ७५ पुगेका महिला–पुरुष दुबै ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता एकमुष्ठ दिदैँ आएको छ।
यो वर्ष मात्रै काठमाडौँ महानगरका क्षेत्रभित्रका ३२ वटै वडाका ११ हजार २ सय ७६ जनालाई वरिष्ठ ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने तयारी भएको महानगरले जानकारी दिएको छ । ‘७५ वर्ष उमेर पुगेका र काठमाडौँ महानगरका क्षेत्रमा स्थायी बसोबास गर्ने वरिष्ठ ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैंयाँका दरले बार्षिक एकमुष्ट १२ हजार रुपैंयाँ प्रदान गर्दै आएका छौँ,’ विभिन्न वडामा महानगर विशेष भत्ता वितरणमा सहभागी भएका प्रमुख शाक्यले भने, ‘अहिले विश्व नै कोभिडको कहरमा छ। यस्तो बेलामा बढी भिडभाड नहोस भनेर हामीले स्वास्थ्य मापदण्डको ख्याल गर्दै सकेसम्म उहाँहरुको स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राखेर घर–दैलोमै पुगेर विशेष भत्ता प्रदान गरिरहेका छौँ।’
उनले कोही पनि जेष्ठ नागरिकले मेरो कोही छैन भन्ने महसुस गर्नु नपरोस् भनेर यो भत्ता प्रदान गरेको पनि जानकारी दिए। उनले जेष्ठ नागरिकले जीवनको उर्वर समय समाज र परिवारका लागि बिताएको भन्दै पाको उमेरमा बेसहारा भएँ भन्नु नपरोस् भनेर भत्ताको व्यवस्था गरेको बताए। ‘हामीले उहाँहरुका लागि ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापना गरिरहेका छौं। सहरका कोही पनि जेष्ठ नागरिकले अब एक्लो महसुस गर्नुपर्दैन,’ उनले भने ।
शाक्यले परिवारका लागि मात्रै होइन देशका लागि समेत विशिष्ठ योगदान गरेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सानो सहयोग गरेर काठमाडौँ महानगरले आफ्नो दायित्व निर्वाह गरेको स्मरण गराए।
काठमाडौँ महानगरपालिका वडा नम्बर–९ की वडा सदस्य श्रृजना भेटवालले वडाका सबै वरिष्ठ ज्येष्ठ नागरिकको घर–दैलोमै पुगेर भत्तासँगै फलफूल वितरण गरेको जानकारी दिइन्। ‘कोभिड कहरका कारण बढी भिडभाड नहोस् भनेर हामीले उहाँहरुको टोल–टोल र घर–दैलोमै पुगेर यस प्रकारको भत्ता वितरण गरिरहेका छौँ।’
गत वर्ष १ हजार ९ सय ३६ पुरुष र ५ हजार ६ सय २१ महिला गरी ७ हजार ५ सय ५७ जनालाई महानगरपालिकाले यस्तो प्रकारको भत्ता उपलब्ध गराएको थियो। यो भत्ता सामाजिक सुरक्षा भत्ता बाहेकको भत्ता हो। महानगरमा गएको वर्ष ४९ हजार ६ सय ८४ जना व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका थिए।





























प्रतिक्रिया