मेलम्ची बाढीः करोडपति व्यापारीको सडकमा बास!

मेलम्ची बाढीः करोडपति व्यापारीको सडकमा बास!

केन्द्रबिन्दु
0
Shares

हेलम्बु गाउँपालिकाको चनौटे बजारका नवीन कक्षपति असार १ गते दिनभर आफ्नो खाद्यान्न पसलमै व्यस्त थिए।

वर्षायाम  सुरु भएकाले चनौटे बजारभन्दा माथि हेलम्बुबाट आएका  ग्राहकलाई उनले दिनभरिजस्तै खाद्यान्नलगायतका सामग्री बेचे। दिउँसो सामान्य पानी परेको थियो। काठमाडौंबाट वर्षायामका लागि ल्याएको खाद्यान्नलगायत सामग्री गोदाममा राख्न उनलाई भ्यानभ्याइ थियो। 

कक्षपति चनौटे बजारका पुराना र ठूला व्यापारी हुन्। दिनभरिको व्यस्तताले थकानमा रहेका कक्षपतिको मोबाइलमा साँझ ६ बजे एक्कासि घन्टी बज्छ। व्यापारी भएकाले मोबाइलमा घन्टी बज्नु सामान्य नै थियो। 

मोबाइलमा घन्टी बज्नासाथ उनले फोन उठाए। अन्य दिन सामान अर्डरका लागि  फोन आउने गर्थ्याे। त्यस दिन पनि उनले त्यही ठाने। तर, फोनले अर्कै विपद्को खबर ल्यायो। ‘हेलम्बुभन्दा माथि पहिरो गएर मेलम्ची खोलामा भीषण बाढी आयो, तुरुन्त बजार छाडेर माथि जानु,’ फोन गर्ने व्यक्तिले खबर दिए।  

मेलम्ची खोला पहिरोको कारण थुनिएको रहेछ। अब उनलाई आफू, घर र व्यापार कसरी जोगाउने भन्ने चिन्ता भयो। कक्षपतिले भने, ‘भाइ र मैले सबैलाई माथिबाट मेलम्चीमा बाढी आएकाले बजार छाडेर भाग्नु भन्दै खबर गर्याैँ। बजारका बुढापाकाले यस्तो बाढी पहिले  पनि आएको हो। आत्तिएर भागिहाल्नु पर्दैन, यतै सुरक्षित बनेर बसौं पो भन्न थाले।’

बजारमा यस्तो कुरा चलिरहँदा हेलम्बुबाट तारन्तार ५० कलभन्दा बढी फोन आउन थाल्यो। ‘बजारमा व्यापार व्यवसाय नभन्नुस्, ज्यान मात्रै भए पनि जोगाउनुस्, तपाइँहरु त्यहाँबाट तत्काल भाग्नुस्,’ फोन गर्ने सबैले एकै स्वरमा यही कुरा भनिरहेका थिए।

चनौटे बजारका व्यापारी र स्थानीयले बाढीको खतरा आँकलन गर्न सकेनन्। पहिले खोलामा बाढी आएकै हो, त्यस्तो विपद् आउलाजस्तो कसैले पनि सोचेनन्।

फोनबाट आएको सूचना पत्याएको भए पसलका सामान निकाल्न सकिने समय थियो। ‘यति ठूलो बाढी आउला भनी आँकलन गर्न नसक्दा वर्षौं दुःख गरेर कमाएको करोडौं सम्पत्ति क्षणभरमै खोलाले बगाइदियो। अहिले करोडपतिबाट रोडपति हुनुपर्यो।’

कक्षपतिका अनुसार फोन गरेको एक घन्टापछि साँझ ७ बजे चनौटे बजारमा बाढी आइपुग्यो। बजारभन्दा केही माथि रहेको झेलुंगे पुल बाढीले बगायो। त्यसपछि मात्रै ठूलो बाढी आयो। त्यसपछि बजार असुरक्षित रहेको भन्दै सबै जना भाग्न थाले।  

बजारका सबैजना भागेर एकै स्थानमा बसेकाले मानवीय क्षति हुन पाएन। बाढी आउँदा अँध्यारो भइसकेको थियो। स्थानीय मानिस बारीका भित्ता छाम्दै ज्यान जोगाउन बजारभन्दा माथि डाँडाको जंगलमा पुगेका थिए। त्यहाँ पुगिसक्दा रातको अन्धकार भइसकेको थियो। 

‘वर्षौँ दुःख गरेर जोडेको सम्पत्ति मेलम्ची खोलामा आएको बाढीले बगाएको हेरेर बस्नुको विकल्प थिएन, पसलमा खोला पसेर सामान बगाएको मधुरो दृश्य मात्रै देखिन्थ्यो,’ कक्षपति भन्छन्।

चनौटे बजारमा नवीन कक्षपतिको पुख्र्यौली व्यवसाय थियो। चनौटे बजारमा उनका हजुरबुबाले व्यवसाय सुरु गरेका थिए। हजुरबुबाका पाँच भाइ छोराहरुले त्यहाँ  छुट्टाछुट्टै व्यवसाय सुरु गरेका थिए। ५० वर्षअघि भक्तपुरबाट चनौटे आएर नवीनका हजुरबुबाले व्यापार सुरु गरेका थिए। चनौटेमा बजार बनाउने अवधारणा नवीनका हजुरबुबाले सुरु गरेका थिए।  

चनौटेलाई हेलम्बु क्षेत्रको व्यापारी केन्द्र बनाउने मुख्य भूमिका कक्षपति परिवारको रहेको थियो। नवीनका अनुसार यो स्थानमा व्यापार सुरुआत गर्ने कक्षपति खलक थिए। यो बजारले हेलम्बु गाउँपालिकाको सबै क्षेत्रलाई समेट्दै आएको छ। हेलम्बुवासीले चनौटे बजारमा सबैथोक किनमेल गर्दै आएका थिए। मेलम्ची खोलाको बाढीले चनौटे बजार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। 

नवीनलाई त्यो असार १ गतेको साँझ सपनाजस्तो लाग्छ। उनले आँखाबाट आँसु झार्दै भने, ‘त्यो साँझ आएको बाढी सपना जस्तै लाग्छ। एकदमै भयंकर सपना देखेर भोलिपल्ट ब्यूझँदा सामान्य भएजस्तो लाग्छ।’

मोबाइलमा घन्टी बज्नासाथ उनले फोन उठाए। अन्य दिन सामान अर्डरका लागि  फोन आउने गर्थ्याे। त्यस दिन पनि उनले त्यही ठाने। तर, फोनले अर्कै विपद्को खबर ल्यायो। ‘हेलम्बुभन्दा माथि पहिरो गएर मेलम्ची खोलामा भीषण बाढी आयो, तुरुन्त बजार छाडेर माथि जानु,’ फोन गर्ने व्यक्तिले खबर दिए।  

धनाढ्य तथा करोडपति व्यापारी कक्षपतिको न बासको टुंगो छ, न गाँसको। चनौटे बजारको २ करोड मूल्य पर्ने घर बाढीले बगायो वर्षायामका लागि गोदाममा राख्न ल्याएको एक करोड बराबरको खाद्यान्न सबै बाढीले बगायो। केन्द्रबिन्दुसँग कुरा गर्दा उनी भावुक र अवाक देखिन्थे।

‘त्यत्रो दुःख गरेर बनाएको घर आँखैअगाडि खोलाले बगायो। टुलुटुलु हेर्नुभन्दा केही गर्नसक्ने अवस्था थिएन,’ उनले भने। असार २ गते बिहान ८ बजे हेर्दाहेर्दै उनको घर बगाएको थियो। दुःख गरेर जोडेको सम्पत्ति बाढीले बगाउँदा सम्हाल्न सकिने अवस्था थिएन। 
 
१३ रात भयो, निदाएका छैनौं
बाढीले सबै घर सम्पत्ति बगाएर लगेपछि निरास बनेका नवीनले १३ दिनदेखि अनिदो बसेको बताए। बाढी आएको दिन र त्यसअघिको समयलाई सम्झेर निदाउन नसकेको उनको भनाइ छ। विगत सम्झिँदै नवीनले भने, ‘सुत्न खोज्छु, तर त्यही असार १ गते साँझको बाढीको झल्को आँखामा आउने गर्छ। बाल्यकालदेखि चनौटेमा बिताएको क्षणले झस्काइरहन्छ। सानैदेखि खेलेर हुर्किएको स्थान बगरमा परिणत हुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ।’ चनौटे बजारमा बाढीले पुर्याएको क्षतिको आँकलन गर्न सकिएको छैन। 

माथिल्लो भेगका मानिसले चनौटे बजारबाट खाद्यान्नदेखि अन्य बस्तु किन्ने गर्थे। तर, अहिले यो बजारमा खोला बगिरहेको छ। यो बजार बाढीले बगाउँदा  हेलम्बुका जनता मेलम्ची पुग्नुपर्ने बाध्यता छ। 

बजार पुरानै अवस्थामा फर्काउन सरकारले सहयोग गरिदियोस्

चनौटे बजारलाई पहिलेको अवस्थामा फर्काउन सरकारले पहल गरिदिनुपर्ने नवीनको भनाइ छ। ‘स्थानीय, प्रदेश र केन्द्र सरकारले स्थानीयलाई राहतभन्दा पनि बजारलाई पहिलेको अवस्थामा फर्काउन योजना बनाएर अगाडि बढ्नुपर्छ। हामीले हरेस खाएका छैनौं, बजारलाई पुनःस्थापना गर्न सकेको जति काम गर्न तयार छौं,’ उनले भने।

स्थानीय सरकारसँग बाँकी क्षति नहोस् भनेर खोला थुन्नका लागि जेसिभी मागे पनि नपठाएको स्थानीयको गुनासो छ। बाढी गएको तीन दिनपछि बजारबासी मिलेर जेसिभी ल्याएर पानी थुनेपछि पुरिएका सामान खोज्न थालिएको छ। 

मानवीय क्षतिले पीडा थप्यो
भौतिक सम्पत्तिभन्दा पनि बाढीका कारण भएको मानवीय क्षतिले बढी पीडा दिएको नवीनले बताए। 

उनका काकाको ट्राउट माछाको व्यवसाय थियो। त्यस दिन खोलामा बाढी आएपछि माछा फर्ममा पानी थुन्नका लागि बाबु छोरा नै गएका थिए।  ठूलो बाढी आएको भन्दै छोरा बजार फर्किए। तर, बाबुको अहिलेसम्म पत्तो छैन।

बाढीका कारण नवीनका काका बेपत्ता छन्। काकी बिरामी छन्। बाढी गएको १३ दिन बितिसके पनि काकाको शव भेटिएको छैन।

राज्यले शव खोज्न चासो नदिएको उनको गुनासो छ। ‘शव नभेटिएकाले काजकिरिया गर्न सकिएको छैन, धनको क्षतिभन्दा पनि मानवीय क्षतिले दुःखी बनाउने गर्छ,’ उनी भन्छन्।

Skip This
Skip This
Logo