लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले पाएको छ।
विद्युत् विकास विभागले सो आयोजना पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण गुमेको आयोजना पुनः फिर्ता आएको हो।
आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ। विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगानी गरिसकेको थियो। थप रु ३५ करोड बराबरको लगानी गरिए आयोजना सम्पन्न हुने कम्पनीले जनाएको छ।
विभागले प्रतिस्पर्धाका आधारमा नेशनल हाइड्रो पावरलाई सो आयोजना उपलब्ध गराएको हो। कम्पनीले अब आयोजना निर्माण, सञ्चालन तथा हस्तान्तरण (बुट) प्रक्रियाबाट अगाडि बढाउनेछ।
कम्पनीले ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो आयोजना सञ्चालन गरिरहेको छ। सोही कम्पनीले भोजपुरमा १४ मेगावाट क्षमताको इरखुवा खोला जलविद्युत् आयोजना निर्माण सुरु गरिसकेको छ भने कास्कीमा १२ मेगावाट क्षमताको मादी खोलाको समेत काम अगाडि बढाएको छ।रासस





























प्रतिक्रिया