युरोकपः आज नकआउट चरणका अन्तिम दुई खेल हुँदै, कसकाे भिडन्त काे सँग?

युरोकपः आज नकआउट चरणका अन्तिम दुई खेल हुँदै, कसकाे भिडन्त काे सँग?

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) नकआउट चरणका अन्तिम दुई खेलहरु हुँदैछन्। युरोपको विभिन्न ११ शहरमा आयोजना भइरहेको युरोकपमा आज राति इङ्ल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेनबीच प्रतिस्पर्धा हुनेछ। 

लण्डनस्थित वेम्बली स्टेडियममा हुने आजको पहिलो खेलमा  इङ्ल्याण्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दुईबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जीत निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहनेछन् ।

इङ्ल्याण्डले समूह डी बाट अपराजित रहँदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इङ्ल्याडले ३ खेलमा ७ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा क्रोएशियालाई १–० गोल अन्तरले हराएको इङ्ल्याण्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

यता, जर्मनीले समूह एफबाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग २–२ गोलको बराबरी खेलेको थियो।

युरोकपमा इङ्ल्याण्ड र जर्मनी तेस्रो पटक भिड्न लागेका हुन्। यस अघिको दुई खेलमा दुबै टोलीले एक एक जीत निकालेका थिए । वेम्बलीमा दुई टिमबीचको १३ औं भेट हुनेछ ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा हुने दोस्रो खेलमा स्विडेन र युक्रेनबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।  दुबै टिम आज जीत निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

स्विडेन समूह ई को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो । समूह चरणको पहिलो खेलमा स्विडेनले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा स्लोभाकियालाई १–० ले हराएको स्विडेनले तेस्रो खेलमा पोल्याण्डलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो।

यता युक्रेन समूह सी बाट नकआउट चरणमा पुगेको हो । समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउण्ड अफ १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोड्यो।

पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अष्ट्रियासँग १–० ले पराजित भएको थियो।

स्विडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको चार खेलमा स्विडेनले २ हार व्यहोरेको छ। यस्तै एक जीत र एक बराबरी खेलेको छ।

Logo