युरोकप अन्तर्गत गएराति भएको खेलमा फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेले स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेकोमा माफी मागेका छन्।
जारी १६ औँ संस्करणको युरोकप फुटबलको प्रि–क्वाटरफाइनल अन्तर्गत राउण्ड अफ १६ मा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टी सुटआउटमा एमबाप्पे गोल गर्न असफल भएका थिए ।
एमबाप्पे गोल गर्न चुकेपछि फ्रान्स पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । एमबाप्पेको पेनाल्टी प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले रोकिदिएका थिए ।
एमबाप्पेले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ‘पेनाल्टीमा गोल गर्न नसकेकोमा माफी चाहन्छु । म टोलीलाई सहयोग गर्न चाहन्थें तर असफल भएँ । यो मेरो लागि निकै गाह्रो समय हो, मलाई सुत्न धेरै गाह्रो भयो । दुर्भाग्यवश यो खेलको उतार चढाव हो । जुन म धेरै माया गर्दछु।’
निकै रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट तथा अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा भने स्विट्जरल्यान्डले बाजी मारेको थियो ।
विश्वकप विजेता टोलीका सदस्य एमबाप्पेले महत्वपूर्ण कुरा भविष्यमा थप बलियो र प्रतिबद्ध भएर आउनु रहेको समेत बताए । उनले स्विस टोलीलाई बधाईसमेत दिएका छन् ।































प्रतिक्रिया