नेकपा (एमाले) को बुधबार सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समिति बैठकले महाधिवेशन आयोजक समिति भङ्ग गरी पूर्ववत् केन्द्रीय कमिटी कायम रहने निर्णय गरेपछि पार्टीभित्रको अन्तरविरोध साम्य हुने ठानिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले यो निर्णय गरेसँगै एमाले विभाजनको खतरा टरेको हो तर असन्तुष्ट पक्षका नेता माधवकुमार नेपालसहितका नेताहरु असार १८ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अझै सुनिश्चित भइसकेको छैन।
नेपालनिकट स्थायी कमिटीका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका छन् भने संस्थापन र नेपाल पक्षका दोस्रो तहका नेताहरु केन्द्रीय कमिटी बैठक डाकिएको सन्दर्भमा आपसी संवादलाई निरन्तता दिन थालेका छन्। एमालेले यसअघि गरिएको नेताहरुको कारबाही स्वतः निष्प्रभावी हुने पनि जनाइसकेको छ।
एमालेले माओवादी केन्द्रसँगको एकतापूर्वको केन्द्रीय कमिटीको बैठक असार १८ गते आव्हान गर्ने निर्णय गरेको छ। पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले माओवादी केन्द्रसँगको केन्द्रीय कमिटीमा पूर्वमाओवादीबाट आएका नेताहरुलाई थप गरेको छ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टीको स्थायी कमिटीमा नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त र वेदुराम भुसाललाई थप गरिएको छ। उनले पार्टीका सबै कामलाई महाधिवेशन केन्द्रित गर्न आयोजक कमिटी गठन गरिएकाेमा सर्वाेच्च अदालतको एक फैसलाले आयोजक कमिटीको क्षेत्राधिकारमाथि प्रश्न उठाएकाले केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको बताए।
बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, लोकतन्त्र, विकास निर्माण आदि विषयमा सरकारले गरेका राम्रा कामका कारण सरकार र एमाले जनतामा लोकप्रिय हुँदै गएको बताएका थिए। उनले नेपालप्रति विश्वको ध्यानाकर्षण भएका स्थितिमा सरकारलाई असफल बनाउन पार्टीभित्रैबाट चलखेल भएको तर देशलाई स्थिरता दिनेतर्फ सुदृढ कदम चाल्न आफूहरु प्रतिबद्ध भएको जनाए। पार्टीभित्र केही व्यक्तिहरु जालझेल र तिकडम गरेर विपक्षीको साँठगाँठमा लागेको उनको आरोप थियो।































प्रतिक्रिया