नेपालबाट ५ खेलाडी मात्र ओलम्पिकमा सहभागि हुने

नेपालबाट ५ खेलाडी मात्र ओलम्पिकमा सहभागि हुने

केन्द्रबिन्दु
0
Shares

यस वर्ष हुने विश्व खेलकुदको महाकुम्भ मेला टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने टुङ्गो लागेको छ। नेपाल ओलम्पिक कमिटि (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुङ्गो लागेको हो।

पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन्। सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन्।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले २९ तारिखसम्म आउने निमन्त्रणाको समय पुरा भएकाले थप वाइल्ड कार्ड अब प्राप्त नहुने बताए। ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो। सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए।

नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यो छात्रवृत्ति प्राप्त गर्न सकेनन्। उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन्। ओलम्पिकमा ५ खेलाडीले प्रतिनिधित्व गर्ने भएपछि बाँकी खेलाडीले प्राप्त गर्दै आएको छात्रवृत्ति आज बुधबारबाट रोकिनेछ।

कोभिड महामारीका कारण ओलम्पिकले विभिन्न खेलमा वाइल्ड कार्डको निर्धारण गरेको थियो । सुटिङ्ग र जुडोमा धेरै कोटा निर्धारण गरेका कारण नेपालबाट समेत दुई खेलाडी सहभागी हुने पक्का भएको छ। यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुँदैछ।

Logo