क्वाटरफाइनलमा युरोकप २०२०, कसले मार्ला बाजी ?

क्वाटरफाइनलमा युरोकप २०२०, कसले मार्ला बाजी ?

केन्द्रबिन्दु
0
Shares

युरोकप फुटबल २०२० को ‘राउन्ड अफ सिक्सटिन’का रोमाञ्चक खेल सकिएका छन्। यससँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लागिसकेको छ। इङ्ल्यान्ड, बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, युक्रेन र चेक रिपब्लिकले अन्तिम आठ स्थान सुरक्षित गरेका हुन्।

साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, क्रोएसियाजस्ता ठूला टिम ‘राउन्ड अफ सिक्सटिन’बाट बाहिरिएका छन्।  युरोकप २०२० मा क्वाटरफाइनलमा पुग्ने आठ टिमहरुको बारेमा यहाँ चर्चा गरिएको छ: 

१. डेनमार्क 
डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली हो। गत शनिबार राति भएको पहिलो प्रि–क्वाटरफाइनलमा १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुग्ने पहिलो टोली बनेको हो। अब डेनमार्कले सेमिफाइनल प्रवेशका लागि चेक रिपब्लिकसँग खेल्नेछ।

डेनमार्क केही असहज परिस्थितिबाट गुज्रदै अन्तिम आठमा आइपुगेको छ। घरेलु मैदानमा पहिलो खेलमै आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सनलाई हर्टएट्याकका कारण गुमाएको डेनमार्कले समूह बीको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। नकआउट चरणमा प्रवेश गर्ने क्रममा डेनमार्कले तीन खेलमा तीन अंक जोडेको थियो, जसमा डेनमार्क समूह चरणको पहिलो खेलमा फिनल्यान्डसँग १–० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा डेनमार्क बेल्जियमसँग २–१ गोलले पराजित भएको थियो। तर, अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको थियो।

इतिहास हेर्दा डेनमार्कले अहिलेसम्म एक पटकमात्र युरोकपको उपाधि चुम्न सकेको छ। सन् १९९२ को युरोकपमा डेनमार्कले जर्मनीलाई २–० गोलले पराजित गर्दै उपाधि चुमेको थियो। 

२. इटाली 
युरोकप २०२० मा कीर्तिमान रच्दै क्वाटरफाइनलमा प्रवेश गर्ने टोली हो, इटाली। गत शनिबार राति भएको प्रि–क्वाटरफाइनलमा अस्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुग्ने दोस्रो टोली बनेको हो। जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ। इटालीले ८२ वर्षअगाडिको आफ्नै कीर्तिमान भंग गरेको हो।

इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएयता इटालीले हार व्यहोरेको छैन । 

इटाली शतप्रतिशत जित निकाल्दै समूह एको विजेता बनेर नकआउट चरणमा पुगेको थियो। इटालीले तीन खेलमा ९ अंक जोडेको थियो। शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो। यस्तै, दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको इटालीले अन्तिम खेलमा वेल्सलाई १–० ले हराएको थियो। अब इटालीले क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि इटाली एक पटक युरोकपको विजेतासमेत बनिसकेको छ। इटालीले युरोकप १९६८ को उपाधि हासिल गरेको थियो, जसमा इटालीले युगोस्लाभियालाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गरेको थियो। 

३. चेक रिपब्लिक 
उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गर्ने तेस्रो टिम बनेको छ। गत आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सीमित नेदरल्यान्ड्सलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

यसअघि चेक रिपब्लिकले समूह डीबाट नकआउट चरणमा स्थान बनाएको थियो। समूह चरणमा तेस्रो स्थानमा रहेको चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो। चेकले तीन  खेलमा चार अंक जोडेको थियो। 

समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई २–० ले हराएको चेक दोस्रो खेलमा क्रोएसियासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा चेक इङ्ल्यान्डसँग १–० ले  पराजित भएको थियो। अब चेक रिपब्लिकले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग खेल्नेछ।

चेक रिपब्लिकले अहिलेसम्म युरोकपको उपाधि भने चुम्न सकेको छैन। यद्यपि, युरोकप १९९६ मा भने चेक उपविजेता बनेको थियो। फाइनल खेलमा चेक जर्मनीसँग २–१ गोलले पराजित भएको थियो। 

४. बेल्जियम 
साविक विजेता पोर्चुगललाई पराजित गर्दै १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्को टोली हो, बेल्जियम। गत आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियम समूह चरणमा अपराजित रहँदै समूह बीको विजेता बनेर नकआउट चरणमा पुगेको थियो। बेल्जियमले तीन खेलमा ९ अंक जोडेको थियो। बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३–० ले हराएको थियो। दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको बेल्जियमले समूह चरणको अन्तिम खेलमा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो।

विश्व फिफा वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले युरोकपको उपाधि भने हासिल गर्न सकेको छैन। तर, यसपालि भने यस टिमलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ। जसका लागि बेल्जियमले क्वाटरफाइनलमा इटालीको सामना गर्नुपर्ने हुन्छ। 

५. स्पेन
युरोकपको तीनपटक च्याम्पियन स्पेन युरोकप २०२०को क्वाटरफाइनलमा प्रवेश गर्ने पाँचौं टोली हो। गत सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो। अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ।

उपाधि दाबेदार मानिएको स्पेनले समूह ईबाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो। स्पेनले तीन खेलमा पाँच अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो।

यसअघि स्पेन सन् १९६४, २००८ र २०१२ को युरोकप विजेता बनिसकेको छ भने एक पटक उपविजेतासमेत बनिसकेको छ।

६. स्विट्जरल्यान्ड
विश्वकप विजेता तथा साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकप २०२० फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने छैटौं टोली हो। गत सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको थियो। स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक ठूला प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। यसअघि स्विट्जरल्यान्ड सन् १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो। 

यसअघिका युरोकपमा पनि स्विट्जरल्यान्डको इतिहास भने त्यति राम्रो छैन तर यसपटकको युरोकपमा भने स्विट्जरल्यान्डको प्रदर्शनलाई आशाजनक मानिएको छ। फुटबलप्रेमीहरुले स्विट्जरल्यान्डको प्रदर्शनलाई प्रशंसा गरिरहेका छन्। 

अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्यान्ड समूह एबाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोडेको थियो।

समूह चरणको पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३–० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले हराएको थियो।

७. इङ्ल्यान्ड 
उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुग्ने सातौं टिम बनेको हो। इंङ्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो।

इङ्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको हो। यसअघि इङ्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो। अब इङ्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनको सामना गर्नेछ। 

इङ्ल्यान्डले अपराजित रहँदै समूह डीबाट विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको थियो। यस क्रममा इङ्ल्यान्डले तीन खेलमा सात अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले हराएको इङ्ल्यान्ड दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

८. युक्रेन 
मंगलबार राति भएको राउन्ड अफ १६ को अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टिम बनेको छ। १० खेलाडीमा समेटिएको स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको थियो। यस खेलसँगै युरोकपको क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ। अब युक्रेनले क्वाटरफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो। यसअघिका प्रतियोगितामा युक्रेन समुह चरणबाटै बाहिरिएको थियो। युक्रेन समूह सीबाट नकआउट चरणमा पुगेको थियो। समूहको तेस्रो स्थानमा रहेको युक्रेन उत्कृष्ट तेस्रो टिम बन्दै राउन्ड अफ १६ मा प्रवेश गरेको थियो। 

युक्रेनले ३ खेलमा तीन अंक जोड्यो। पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३–२ गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा नर्थ म्यासेडोनियालाई २–१ ले हराएको युक्रेन समूह चरणको अन्तिम खेलमा अस्ट्रियासँग १–० ले पराजित भएको थियो।

Logo