नारायणगढ–मुग्लिन सडक तीन दिनदेखि अवरुद्ध, जताततै पहिरै पहिराे

नारायणगढ–मुग्लिन सडक तीन दिनदेखि अवरुद्ध, जताततै पहिरै पहिराे

केन्द्रबिन्दु
0
Shares

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहीबार र शुक्रबार केही समय सडक खुलाउन सकिए पनि अन्य समय पहिराेले सडक अवरुद्ध रहेको हो।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ चारकिलो र पाँचकिलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको दुईघण्टा नपुग्दै सेती दोभानमा ठूलो पहिरो खसेको उनले जानकारी दिए । त्यस पछि पुनः चारकिलो र पाँचकिलोमा पनि पहिरो खसेको हो । नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्ने सेती दोभानमा पछिल्ला वर्षहरुमा पहिलोपटक पहिरो खसेको हो।

उनले भने, “मैले यो सडकमा काम गरेको ६ वर्ष भयो । पहिलो पटक यहाँ पहिरो खसेको हो ।” सडकको भित्तातर्फ ५० मिटर भन्दा माथिबाट पहिरो झरिरहेकाले सफा गर्न कठिन भएको छ । पहिरो रोकिएमा ५ देखि ६ घण्टामा सडक सफा गर्न सकिने भएपनि पानी परिरहेमा दिनभर लाग्न सक्ने उनको भनाइ छ । चार र पाँच किलोमा पहिलेकै ठाउँमा पहिरो खसेको हो । सडक सफा गर्न तीन वटा लोडर, एउटा एक्साभेटर, एउटा व्रेकर र दुईवटा जेसिबी परिचालन गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानदाश थापा सो सडक बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्र सञ्चालन गर्न सकिएको बताउछन् । मुग्लिन नजिकै चारकिलो र पाँचकिलोमा पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ। सेती दोभानमा ठूलो पहिरो खसेपछि थप जटिल बनेको थापाले बताए । सडक अवरुद्ध हुँदा विवाह लगायतका अत्यावश्यक काममा हिड्ने प्रभावित भएका छन् । ठूलो सङ्ख्यामा सवारीसाधनमा आएका यात्रुहरु सडकमा नै बिचल्लीमा परेको उहाँले जानकारी दिए।

शुक्रबार विवाहका लागि हिडेका बेहुलाहरुको बिचल्ली परेको सामुहिक तस्विरहरु सार्वजनिक भएका थिए । यसै गरी पृथ्वी राजमार्गको घोप्टेभिर र कुरिनटारमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। लेदो  खसिरहेकाले  सडक दुईतर्फी अवरुद्ध भएको थापाले जानकारी दिए।रासस

Skip This
Skip This
Logo