पार्टी एकता जोगाउन भन्दै सम्वादमा रहेको कार्यदलले तयार गरेको तीनबुँदे समझदारीबारे वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी दिन नेता भीम आचार्यसहितको टोली शुक्रबार बिहान करिब ८ बजे कोटेश्वरस्थित उनको निवास पुगे।
तर, टोलीले नेपाललाई भेट्न सकेन। फोन गर्दा पनि लागेन। आखिर, नेता नेपाल कहाँ गए? किन फोन नलाग्ने भयो? शुक्रबार र शनिबार दिनभर चासो भयो।
नेता नेपाल निकट स्रोतका अनुसार ८ बजे अगाडि नै घरदेखि नेपाल पिएसओबिना बाहिरिएका थिए। र, उनी अग्निप्रसाद सापकोटालाई भेट्न पुगे। जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका थिए।
जबकि, त्यसदिन ३ बुँदे समझदारीअनुसार अगाडि बढ्न कार्यदलमा रहेका उनी निकट सदस्यहरूले दबाब दिइरहेका थिए।
जुन समझदारीका बुँदाहरूप्रति नेता नेपालको अरुची रहेको केन्द्रविन्दुलाई स्रोतले जानकारी दियो। अध्यक्ष केपी ओलीले झुक्याउन चाहेको उनको बुझाइ छ।
सोही कारण, निकट मानिने कार्यदलका सदस्यहरूलाई नै भेट नदिइ फोन पनि स्वीच अफ गरेर उनी प्रचण्ड र सापकोटासँग सम्वादमा रहे।
करिब ७ घण्टा उनीहरूबीच सम्वाद भयो। सम्वादको क्रममा नेता नेपालले संसद् पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दिएको रिटमा हस्ताक्षर गर्ने आफूसहित २३ जना सांसदलाई ओलीले पदमुक्त गराउन पत्रचार गरे के गर्न सकिन्छ? भनेर सापकोटालाई सोधेका थिए।
सापकोटाले पदमुक्तको पत्र आए ‘होल्ड’ मा राख्ने बताएको स्रोतले जनायो। यसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्न सक्ने सम्भावित निर्णय र त्यसपछि कसरी अगाडि बढ्ने विषयमा पनि प्रचण्डसँग कुराकानी भएको थियो।































प्रतिक्रिया