युरोकप सेमिफाइनल: कसको पोल्टामा जाला उपाधि? (भिडियाेसहित)

युरोकप सेमिफाइनल: कसको पोल्टामा जाला उपाधि? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरोकपको सेमिफाइनल समीकरण तय भएको छ। युरोपका विभिन्न ११ सहरमा आयोजना भइरहेको युरोकपको क्वाटरफाइनलअन्तर्गत शनिबार राति युक्रेन र इङ्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

यस संस्करणमा इङ्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्। इङ्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल मंगलबार र बुधबार हुनेछ । 

मंगलबार राति १२ः४५ बजे हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्। यस्तै, बुधबार राति १२ः४५ बजे हुने दोस्रो सेमिफाइनलमा डेनमार्क र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

हालसम्म प्रतियोगिताका ४८ खेल सकिएका छन्, जसमा कूल १ सय ३५ गोल भएको छ भने १६ वटा पेनाल्टी प्रदान गरिएको छ। जसमध्ये १० पेनाल्टी सदुपयोग हुँदा ६ पेनाल्टी भने गोलमा परिणत हुन सकेनन्। यस्तै, प्रतियोगितामा आठ आत्मघाती गोल र ६ रेडकार्ड दिइएको छ। 

आज हामी सेमिफाइनलका प्रवेश गरेका चार टोलीको बारेमा चर्चा गर्दैछौं। 

१. इङ्ल्यान्ड 
क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ। शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४–० गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको थियो। अब इङ्ल्यान्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नुपर्ने हुन्छ। युवा खेलाडीले भरिएको इङ्ल्यान्ड उपाधि उचाल्ने होडमा रहेको छ।

इङ्ल्यान्डले यसपालिको उपाधि जित्नसक्ने सम्भावना किन बलियो ?

युरोकपका सेमिफाइनल र फाइनल खेलहरु लन्डनस्थित बेम्बली स्टेडियममा हुँदैछन्, जुन इङ्ल्यान्डको घरेलु मैदान हो। त्यसैले आफ्नो घरेलु मैदानमा खेल्न इङ्ल्यान्डलाई केही सहज हुने आँकलन फुटबल विश्लेषकहरूले गरिरहेका छन्। 

अर्काे कुरा इङ्ल्यान्डले जारी प्रतियोगितामा पाँच खेलमा कुनै पनि गोल खाएका छैनन्। यस्तै, इङ्ल्यान्डको अग्रपंक्ति निकै आक्रामक र उत्कृष्ट देखिएको छ। युक्रेनविरुद्ध ४–० को जित निकाल्दै इङ्ल्यान्डले आफ्नो रवाफ देखाइसकेको छ। इङ्ल्यान्डका खेलाडीहरु पनि निकै फर्ममा देखिएछन्। खेलाडीबीचको तालमेल पनि निकै राम्रो छ। त्यसैगरी, गोलकिपर जोर्डन पिकफोर्ड पनि निकै लयमा देखिएका छन्। पाँच खेलसम्म गोल नखानुले पनि उनको प्रदर्शनको पुष्टि गर्छ। 

इङ्ल्यान्डले क्वाटरफाइनल प्रवेश गर्ने क्रममा उपाधि दाबेदार जर्मनीलाई ५५ वर्षपछि २–० गोलले पराजित गरेको थियो। यसअघि इङ्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो। 

समूह चरणको खेलमा इङ्ल्यान्डले अपराजित रहँदै समूह डीबाट विजेताका रूपमा अन्तिम १६ मा स्थान बनाएको थियो। यस क्रममा इङ्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १–० गोल अन्तरले हराएको इङ्ल्यान्ड दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। समूह चरणको अन्तिम खेलमा इङ्ल्यान्डले चेक रिपब्लिकलाई १–० गोल अन्तरले पराजित गरेको थियो।

२. इटाली 
युरोकप २०२० मा कीर्तिमान रच्दै सेमिफाइनलमा प्रवेश गर्ने टोली हो, इटाली। क्वाटरफाइनलमा फिफा वरियताको शीर्ष टिम बेल्जियमलाई २–१ गोलले हराउँदै इटालीले अन्तिम चारमा स्थान बनाएको थियो। 

यस जीतसँगै इटालीले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३२ पुर्याएर नयाँ इतिहास रचेको हो। सन् २०१८ सेप्टेम्बरयता इटाली अपराजित छ। चारपटकको विश्व विजेता इटालीले युरोकप फुटबलको उपाधि भने एकपटक मात्रै जितेको छ। सन् १९६८ को युरोपकप उपाधि हात पारेको इटालीलाई यसपटक उपाधि दाबेदारका रुपमा पनि हेरिएको छ। 

इटालीले अब सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। प्रशिक्षक रोबर्टो मान्सिनीले कार्यभार सम्हालेपछि इटालीको खेलमा व्यापक सुधार देखिएको छ। सन् २००६ पछि इटालीले एउटा पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। तर, मान्सिनी आएपछि भने पुनः खेलाडी र फ्यानमा आशा जगाएको छ। ब्याक टु ब्याक फर्ममा देखिएको इटाली यसपटक स्पेनलाई पराजित गर्न हरसम्भव प्रयास गर्ने प्रशिक्षक मान्सिनीले बताएका छन्। 

समूह चरणको खेलमा इटाली शतप्रतिशत जित निकाल्दै समूह एको विजेता बनेर नकआउट चरणमा पुगेको थियो। इटालीले नकआउटमा अस्ट्रियालाई २–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। 

समुहको विजेता बन्ने क्रममा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो। यस क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो। यस्तै दोस्रो खेलमा स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको इटालीले अन्तिम खेलमा वेल्सलाई १–० ले हराएको थियो। 

३. स्पेन
प्रतियोगिताको सुरुआती चरणमा फितलो प्रदर्शन गरेको स्पेनले पछिल्लो खेलमा भने आफूलाई बलियो टिम सावित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। युरोकपको तीन पटक च्याम्पियन बनेको स्पेनले १० खेलाडीमा सीमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। 

रुसमा भएको पहिलो क्वाटरफाइनल  खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। जसमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेनले फाइनल प्रवेशका लागि इटालीसँगको भेट पक्का गरेको थियो। हालसम्म स्पेन र इटालीबीच ३३ पटक भेट भएको छ। जसमा १२ खेल स्पेनले जित्दा ९ खेल इटालीको नाममा छ भने १२ खेल भने बराबरी खेलेको छ। 

प्रि–क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५–३ गोलको फराकिलो अन्तरले पराजित गर्दै स्पेनले क्वाटरफाइनलको यात्रा निश्चित गरेको थियो। उपाधि दाबेदार मानिएको स्पेनले सन् २०१२ को युरोकपपछि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन। त्यसैले स्पेन इटालीलाई हराएर फाइनल प्रवेश गर्न चाहन्छ। स्पेनले समूह ईबाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । 

स्पेनले तीन खेलमा ५ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। यस्तै, दोस्रो खेलमा पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५–० गोल अन्तरले पराजित गरेको थियो। यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ को युरोकप उपाधि जितेको छ। 

४. डेनमार्क 
जारी युरोकपको क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बाकु ओलम्पिक स्टेडियममा भएको क्वाटरफाइनलको तेस्रो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरेको थियोे। अब डेनमार्कले फाइनल प्रवेशका लागि इङ्ल्यान्डको सामाना गर्नेछ। दुईबीच हालसम्म २१ पटक भेट भएको छ। जसमा इङल्यान्ड बलियो देखिएको छ। इङ्ल्यान्डले १२ खेलमा जित दर्ता गर्दा डेनमार्कले भने चार खेलमा मात्र जितेको छ। पाँच खेल भने बराबरी खेलेको छ। 

युरोकपको एक पटक उपाधि चुमेको डेनमार्कले नकआउट चरणको खेलमा वेल्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो। १० खेलाडीमा सीमित वेल्समाथि डेनमार्कले ४–० गोल अन्तरले जित निकालेको थियो। डेनमार्क समूह बीको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। 

नकआउट चरणमा प्रवेश गर्ने क्रममा डेनमार्कले तीन खेलमा ३ अंक जोडेको थियो। जसमा डेनमार्क समूह चरणको पहिलो खेलमा फिनल्यान्डसँग १–० ले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा डेनमार्क बेल्जियमसँग २–१ गोलले पराजित भएको थियो। तर, समुह चरणको अन्तिम खेलमा रुसलाई ४–१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको थियो।

Logo