निषेधाज्ञा खोल्न हतारो भयो, टरेको छैन तेस्रो लहरको जोखिमः जनस्वास्थ्यविज्ञ

निषेधाज्ञा खोल्न हतारो भयो, टरेको छैन तेस्रो लहरको जोखिमः जनस्वास्थ्यविज्ञ

केन्द्रबिन्दु
0
Shares

कोभिड–१९ को नयाँ भेरियन्टबाट संक्रमित हुने बिरामीको संख्या दैनिक रूपमा घट्दो छ। स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या बढ्नुका साथै दैनिक मृत्युदर घटेकाले जनस्वास्थ्यविज्ञले ‘कम जोखिम’ अवस्था भनी टिप्पणी गरेका छन्। तथापि, जोखिम नटरेकाले सतर्कता अपनाउनुपर्ने र यसअघिभन्दा बढी चनाखो बन्नुपर्ने उनीहरुको भनाइ छ। त्यसो त मुलुकभर संक्रमितको संख्या कम भएसँगै मानिसको चहलपहल बढेको छ। 

काठमाडौं उपत्यकालगायत जोखिम कम भएका अधिकांश जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेको छ। सार्वजनिक यातायात सुरु भएसँगै उपत्यका तथा आसपासका क्षेत्रमा सवारीसाधनको चाप तथा मानिसको चहलपहल सुरु भएको हो।

गत वैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा जारी गरिएको निषेधाज्ञा ६६ दिनपछि क्रमिकरूपमा हट्दै आएको छ।

सुरुमा काठमाडौं उपत्यकामा मात्र सीमित भए पनि पछि ७७ वटै जिल्लाले निषेधाज्ञा लगाएका थिए। तर, सबैजसो जिल्लामा संक्रमित घट्दै गएपछि विभिन्न जिल्लाले निषेधाज्ञाको मोडल परिमार्जन गर्न थालेका छन्।

मंगलबारदेखि काठमाडौं उपत्यकामा जोरबिजोर हटाई सार्वजनिक यातायात सुचारु गर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेपछि सार्वजनिक यातायात खुलेको छ। तर, स्वास्थ्य मापदण्ड भने पालना गरिएको छैन। अधिकांश सवारीसाधनले सरकारले तोकेको मापदण्डभन्दा बढी यात्रु राख्ने गरेका छन्। 

भक्तपुरका विनोद भट्टराईले कौशलटारदेखि रत्नपार्क आउँदा सार्वजनिक बस खचाखच भएको बताए। ‘बसमा रहेका अधिकांश यात्रुले मास्क लगाएका थिएनन्, लगाएका व्यक्तिहरुले सही तरिकाले लगाएका थिएनन्। बसले क्षमताभन्दा बढी यात्रु बोकेका थिए,’ उनले भने।

नियमनका लागि प्रहरी र ट्राफिक प्रहरी बाटोमा तैनाथ भए पनि खचाखच यात्रु बोक्ने गाडीलाई चेकजाँच नगरेको उनको भनाइ छ। 

के भन्छन् त विज्ञहरु?
वरिष्ठ भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले वस्तुस्थिति नबुझिकन हतारमा निषेधाज्ञा खुला गर्ने आदेश जारी गरेको बताउँछन्।

सरकारले कन्ट्रयाक ट्रेसिङ र टेस्टलाई व्यापक बनाउँदै लैजाने हो भने अहिलेको यथार्थ अवस्थाबारे थाहा हुने थियो। तर, त्यसो नगरी हचुवाका भरमा काम गर्दा संक्रमण झनै बढ्नसक्ने उनको अनुमान छ।

डा. पाण्डेले थपे, ‘फेरि दुई महिनापछि संक्रमणले जरो गाड्न सक्छ, हामी अनिवार्यरुपमा निषेधाज्ञा गर्ने अवस्थामा पुग्छौं। बरु त्यसो गर्नुभन्दा जनजीवनलाई सामान्यरूपमा फर्काउन योजनाबद्ध ढंगले काम गरेको भए हुने थियो।’

खोपमात्र अहिलेको संक्रमण नियन्त्रणमा लिने अचुक अस्त्र भएकाले सरकारले ५० प्रतिशत नागरिकलाई छिटोभन्दा छिटो खोप लगाउने व्यवस्था मिलाएर अघि बढ्नुपर्ने उनको धारणा छ। 
वरिष्ठ जनस्वास्थ्यविद् डा.शरद वन्तले सबै नागरिकले खोप लगाए लकडाउन र निषेधाज्ञा गर्नु नपर्ने बताए।

‘खोप ल्याउन सरकारले ढिलाइ गर्नु हुँदैन। खोप लगाइसकेपछि संक्रमण फैलन पाउँदैन। खोप लगाएको व्यक्तिलाई संक्रमण भए पनि जोखिम बम हुन्छ,’ उनले भने।

Logo