ब्राजिलियन फरवार्ड नेमारले चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिनासँग कोपा अमेरिकाको फाइनलमा खेल्ने चाहना व्यक्त गरेका छन्। ब्राजिलले मंगलबार भएको पहिलो सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । खेलको ३५ औं मिनेटमा नेमारको पासमा लुकास पाक्वेटाले गरेको एकमात्र गोल ब्राजिलको लागि फाइनल पुग्ने अवसर बन्यो।
खेलपछि बोल्दै नेमारले फाइनलमा अर्जेन्टिनासँग खेल्न चाहेको बताएका हुन्। ‘म अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु,’ नेमारले मुस्कुराउँदै भने, ‘अर्जेन्टिनामा मेरा साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ।’
पछिल्लो पटक ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिकामा सन् २००७ मा खेलेका थिए । भेनेजुएलामा भएको उक्त प्रतियोगितामा ब्राजिलले ३–० को जीत हासिल गरेको थियो । यसपटक ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा दुई अपराजित टोली हुन् । यी दुई टोली फाइनल पुगेको अवस्थामा दुवै टिमका १० नम्बरका खेलाडीबीचको उत्कृष्टता हेर्न लायक हुनेछ। यसमा विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन्।
अर्जेन्टिना मेस्सीबाट प्रेरित टोली हो भने ब्राजिललाई नेमारले अघि बढाइरहेका छन्। दुवैले व्यक्तिगतरुपमा पनि कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
मेस्सीले ४ गोल र ४ असिस्टको योगदान दिँदा नेमारले २ गोल गर्दै ३ असिस्ट दिएका छन् । घरेलु मैदान भएका कारण ब्राजिललाई केही फाइदा हुनेछ । ब्राजिल प्रतियोगिताको साविक विजेतासमेत हो । दुई वर्ष अघि घरेलु मैदानमा भएको कोपा अमेरिका नेमारले गुमाएका थिए । तर नेमार प्रेरित ब्राजिलले सन् २०१३ मा कन्फिडेरेसन कप र ओलम्पिकमा स्वर्ण जितेको थियो।
मेस्सीले युरोपेली क्लब फुटबलमा बार्सिलोनाबाट सबै उपाधि जितेका छन् । तर उनले अर्जेन्टिनाका लागि केही पनि उपाधि जित्न सकेका छैनन्। अर्जेन्टिना सन् १९९३ पछि पहिलो पटक मुख्य उपाधिको खोजीमा रहेको छ।





























प्रतिक्रिया