जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ। वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।
आज दुवै टोली जीत निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् । त्यसैले दुई ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ । इंग्ल्यान्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्ड १२ खेलमा जीत निकाल्दा डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ।
यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।
इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको सानदार जीत निकाल्दै अन्तिम चारमा पुगेको हो। यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
यता, डेनमार्कले भने क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो । त्यसअघि डेनमार्कले भने प्रि–क्वाटरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।































प्रतिक्रिया