दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छ। बुधबार बिहान भएको सेमिफाइनलको दोस्रो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा पराजित गरेसँगै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो।
ब्राजिलमा सञ्चालन भइरहेको ४७ औं संस्करणको कोपा अमेरिकाको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय गरिएको थियो, जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो।
अर्जेन्टिनाले सातौं मिनेटमा लौटारो मार्टिनेजको गोलबाट अग्रता लिएको थियो। लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए। तर, ६१ औं मिनेटमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो। टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए। अर्जेन्टिनाका रोड्रिगो डी पाउल टाइब्रेकरमा गोल गर्न चुकेका थिए।
सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग फाइनल खेल्न लागेको हो। यस्तै नेयमारको अर्जेन्टिनासँग फाइनल खेल्ने चाहनासमेत पूरा भएको छ।
कोपा अमेरिकाको साविक विजेता टोली ब्राजिल भने मंगलबार भएको सेमिफाइनलको पहिलो खेलमा पेरुलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ। आयोजक ब्राजिलले पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरेका थिए। नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका थिए।
आगामी आइतबार हुने फाइनल खेलमा अब मेस्सी प्रेरित अर्जेन्टिना र नेयमारप्रेरित ब्राजिल उपाधिका लागि भिड्नेछन्। उपाधि होडमा रहेको यी दुई ठुला टिमबीचको खेल रोमान्चक हुने आशा गरिएको छ। ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म १ सय ११ पटक प्रतिस्पर्धा भएको छ, जसमा ब्राजिलले ४६ खेलमा जित निकाल्दा दर्ता अर्जेन्टिनाले ४० खेल जितेको छ।
दुई टिमबीच २५ खेल बराबरीमा सकिएको छ । यस्तै फिफा विश्वकपमा पनि दुईबीच चारपटक प्रतिस्पर्धा भएको छ । ब्राजिलले दुई खेल ब्राजिलले जित्दा एक खेल अर्जेन्टिनाले जितेको थियो। एक खेल भने बराबरी खेलेको छ।
कोपा अमेरिकामा को बलियो ?
कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले अहिलेसम्म ४२ पटक सहभागिता जनाइसकेको छ। १४ पटक प्रतियोगिताको उपाधि समेत कब्जा गरिसकेको छ। यता ब्राजिलले भने ३६ पटक सहभागिता जनाउँदा ९ पटक उपाधि उचालिसकेको छ।
यस प्रतियोगितामा ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म ३३ पटक प्रतिस्पर्धा भएको छ। ब्राजिलले १५ खेलमा जित निकालेको छ भने, अर्जेन्टिनाले १० खेलमा जित दर्ता गराएको छ । आठ खेल भने बराबरीमा सकिएको छ। यसरी खेललाई नियाल्दा दुवै टिम उस्ताउस्तै प्रतिद्वन्द्वी देखिन्छन्।
तर, कोपा अमेरिकामा दुई टिमबीचको फाइनल खेललाई मात्र नियाल्ने हो भने अर्जेन्टिनाले लगातार हैकम जमाएको छ। प्रतियोगिताको फाइनल खेलमा दुई टिमबीच १० पटक प्रतिस्पर्धा भएको छ। जसमध्ये आठ खेलमा ब्राजिललाई स्तब्ध बनाउदै अर्जेन्टिनाले लगातार उपाधि चुमेको थियो।
अर्जेन्टिनाले सन् १९२१, १९२५, १९३७, १९४५, १९४६, १९५७, १९५९ र १९९१ को कोपा अमेरिका फाइनलमा ब्राजिललाई हराएको थियो। पछिल्लो दुई फाइनल खेलमा भने ब्राजिलले अर्जेन्टिनालाई लगातार पराजित गरेको छ। सन् २००४ र २००७ को फाइनलमा ब्राजिलले अर्जेन्टिनामाथि आफ्नो रवाफ देखाएको हो।
ब्राजिलले उपाधि जित्नसक्ने सम्भावना किन बलियो ?
कोपा अमेरिकाको साविक विजेता तथा आयोजक टोली ब्राजिल यस सिजनमा पनि उच्च मनोबलका साथ रहेको छ। ब्राजिलमा सञ्चालन भइरहेको यो प्रतियोगिता गत सिजनमा पनि ब्राजिलमै आयोजना भएको थियो। गत सिजन घरेलु मैदानमा उपाधि चुमेको ब्राजिललाई यस पटक पनि आफ्नो घरेलु मैदानमा खेल्न केही सहज हुने भएकोले उपाधि जित्ने होडमा रहेको छ।
अर्काे ब्राजिल जारी प्रतियोगिताको ६ खेलमा अपराजित टोली पनि हो। यस्तै, ब्राजिलका खेलाडी निकै आक्रामक र उत्कृष्ट फर्ममा देखिएका छन्। खेलाडीबीचको तालमेल पनि निकै राम्रो देखिएको छ । पछिल्लो सिजनमा अर्जेन्टिनालाई लगातार पराजित गरेको हुनाले पनि ब्राजिलका खेलाडीमा आत्म विश्वास बलियो देखिएको छ।
ब्राजिल कोपा अमेरिकाको ९ पटक विजेता तथा ११ पटक उपविजेता बनिसकको छ। त्यसैले २० पटक फाइनलमा पुगेको ब्राजिलले आफ्नो अनुभव यस फाइनल खेलमा पनि सदुपयोग गर्नेछ।
जारी कोपा अमेरिकाको समूह बीमा रहेको ब्राजिलले आफ्नो समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको थियो । जित निकाल्ने क्रममा ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३–० गोल अन्तरले पराजित गरेको थियो। यस्तै पेरुसँगको दोस्रो खेलमा ४–० गोल गरेको ब्राजिलले तेस्रो खेलमा कोलम्बियालाई २–१ गोलले पराजित गरेको थियो।
समुहको अन्तिम खेलमा भने इक्वेइडरसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । क्वाटरफाइनलमा भने चिलीलाई १–० गोलले हराएको थियो।
अर्जेन्टिनालाई किन बलियो टिम मानिन्छ ?
प्रतियोगितामा सहभागिता जनाएको एक वर्षपछि नै अर्जेन्टिनाले पहिलो पटक ब्राजिललाई पराजित गर्दै प्रतियोगिताको उपाधि हात पारेको थियो । त्यसपछि अर्जेन्टिनाले सन् १९३६, १९४५, र सन् १९४७ का संस्करणहरूमा लगातार हैकम जमाएको थियो।
प्रतियोगितामा सर्वाधिक ४२ पटक सहभागिता जनाएको अनुभव अर्जेन्टिनासँग रहेको छ। हालसम्म अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १४ पटक जितिसकेको छ भने सर्वाधिक १३ पटक उपविजेता समेत बनिसकेको छ। २७ पटक कोपा अमेरिकाको फाइनल यात्रा गरेको अर्जेन्टिनाले ब्राजिललाई मात्र ८ पटक पराजित गरेको छ।
जारी प्रतियोगिताको समूह एमा रहेको अर्जेन्टिनाले अपराजित रहदै समुह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो। क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३–० गोलले हराउदै सेमिफाइनलमा पुगेको थियो।
समूह चरणको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै दोस्रो खेलमा उरुग्वेलाई १–० गोलले पराजित गरेको अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हराएको थियो। अर्जेन्टिनाले समूहको अन्तिम खेलमा भने बोलिभियालाई फराकिलो गोल अन्तरले हराएको थियो। अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले हराएको थियो।































प्रतिक्रिया