हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
नेपाल वायु सेवा निगममा कार्यरत कर्मचारीहरु तीनदेखि यता आन्दोलनमा उत्रिएका छन्। महाप्रवन्धक डिमप्रकाश पौडेलले सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर निजीकरण गर्न खोजेको आरोप लगाउँदै उनीहरू तीन दिनयता आन्दोलनमा छन्। शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीहरुमाथि बर्बरतापूर्ण ढंगले प्रहरीले लाठी चार्ज गरी घाइते बनाइएको भन्दै त्यसप्रति पनि निगमका कर्मचारीहरू रुष्ट बनेका छन् भने, उनीहरूले पर्यटन बोर्डसँग वार्ता गरेर मात्र समस्या समाधान खोजिनु पर्ने माग राखेका छन्।
नेकपा (एमाले) विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरू एकता समाधानतर्फ उन्मुख भएको जानकारी गराएका छन्। बिहीबार दिउँसो सम्पन्न बैठकपछि नेताहरूले प्रतिक्रिया दिँदै छलफललाई निष्कर्षमा पुर्याउनका लागि थोरै तयारी आवश्यक रहेको र यसबीचमा तयारी गरेर आजै बस्नेगरि बैठक स्थगन गरिएको बताएका छन्। बिहीबार साँझ मात्र होटेल मेरियटमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता भएको थियो। उक्त भेटले एमाले एकता थप सहमति उन्मुख भएको विश्लेषक हरुको अनुमान छ।
प्रधानमन्त्री केपी शर्माले एकै पुस्तामै विद्वान तयार गर्न नसकिने र त्यो जनेरेसन टु जेनेरसेन हुँदै अघि बढ्ने बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको पुस्ताले पनि पुर्खाको ज्ञानलाई आत्मसात गर्दै नयाँ आविष्कार गर्नुपर्नेमा जोड दिएका छन्। उनले वेदको रचना सबैभन्दा पहिले भएको भन्दै नेपालीले आफ्नै गौरवपूर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दै नयाँ आविष्कारमा लाग्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसले आगामी भदौ १६ देखि १९ गतेका लागि १४ महाधिवेशनका लागि मिति तय गरेको छ। महाधिवेशन जसरी पनि सम्पन्न गर्ने सभापति देउवा बताउँदै आएका छन् । तर, हाल आएर कांग्रेस भित्रका क्रियाशील सदस्यताको विषय टुंगो नलाग्नुले महाधिवेशन हुने नहुने बारे संसय पैदा भएको छ। यस विषयमा महामन्त्री शशांक कोइरालाले पनि निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको प्रतिक्रिया दिएका छन्।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिताका लागि इंग्ल्यान्ड जाँदैछन्। सन्दिप बिहीबार राति नै त्यसतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ। उनी इंग्ल्यान्ड पुगेर १० दिनको क्वारेन्टिनमा बसेर मात्र खेलमा सहभागी हुनेछन्। यस्तै सन्दीपले आउँदो असोजमा आयोजना हुने चौंथो संस्करणको ईपीएलमा काठमाडौं किङ्स–११ बाट खेल्ने तय भएको पनि सम्बद्ध क्लबले जानकारी गराएको छ।





























प्रतिक्रिया