बजारमा प्रायः सबै खालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ३० देखि ३५ रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ५० देखि ५५ रुपियाँ पुगेको छ । १५ दिन अगाडिसम्म प्रतिकेजी २०देखि २५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ७० रुपियाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी, तितेकरेला, लौका, परबर, लौका, घिरौँला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोइनसक्नु भएको छ ।
लगातारको वर्षाले सडक अवरुद्ध हुँदा किसानबाट खरिद गरेका तरकारी बाटोमै कुहिएका छन्, जसको असर बजारमा परेको व्यापारी बताउँछन् । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ ।
पहिले दुई/तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ । कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहेका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाए ।
उनले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताए । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगिएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।































प्रतिक्रिया