नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको दाबी गरिएकाे छ। सिंहदरबारमा शनिबार विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो। विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने बताएकाे छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरु आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए।
“हामी आइतबार पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ। त्यो विन्दुसम्म पुर्याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ”, उनले भने, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ। आइतबार एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ।”
एमालेलाई एकताबद्ध बनाएर राष्ट्र, जनता, कम्युनिष्ट आन्दोलनको रक्षा र नेपालीको चाहनालाई सम्बोधन गर्नका लागि एकताको घोषणा गरिने जानकारी उनले दिए।
उता एमालेका उपाध्यक्ष डा भीमबहादुर रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताए।
बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी थिए। एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ।





























प्रतिक्रिया