कमला नदीको क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

कमला नदीको क्षतिग्रस्त पुल ठेकेदारले नै बनाउने

केन्द्रबिन्दु
0
Shares

गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ। बाढीले पुलको पूर्वतर्फको दोस्रो स्पान (पुल निर्माणको एक भाग) भासिएको थियो।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले क्षतिग्रस्त हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्नुपर्ने बताउँदै त्यसका लागि स्पष्ट निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई पत्र पठाइसकेको जानकारी दिए। 

उनले भने, “पुलको डिजाइन र निर्माणको जिम्मा सम्बन्धित निर्माण कम्पनीले नै गरेको हो। सम्झौताअनुसार निर्माण कम्पनीले आफ्नो खर्चमा क्षतिग्रस्त सो पुलको निर्माण गर्नुपर्ने हुन्छ। निर्माण कम्पनी उम्कन पाउँदैन। ” निर्माण कम्पनीले पनि बाढीबाट क्षति भएको सो पुलको निर्माण गर्ने भनेर प्रतिबद्धता जनाइसकेको महानिर्देशक थापाले जानकारी दिए।

सम्झौताअनुसार पुलमा पाँच वर्षसम्म कुनै समस्या भएमा निर्माण कम्पनीले नै मर्मतसम्भार गर्नुपर्ने हुन्छ। सो पुल निर्माणको जिम्मेवारी २०६८ सालमा पप्पु–लुम्बिनी बिल्डर्स (जेभी)ले पाएकोमा पछि पप्पुले सम्पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सलाई हस्तान्तरण गरि हात झिकेको थियो। ४७० मिटर लामो सो पुल ११ मिटर चौडा रहेको छ। पुलमा १२ वटा स्पान छन्।गोरखापत्रबाट

Logo