काठमाडौं ।
कोरोना भाइरसका कारण गत चैत्र ४ गतेदेखि अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको थियो ।
करिब ६ महिनाको अन्तरालमा दूतावासले विहिबारबाट डाइभर्सिटी भिसा (डिभी)का नियमित अपोइन्टमेन्टहरू साथै सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन दर्ता खुलाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि गए राति ९ः४५ बजेबाट आवेदन खुला भएकोे जनाएको छ ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ । इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्ने जनाइएको छ ।
डीभी कार्यक्रममा सहभागी हुनका लागि शुल्क लाग्दैन । यसका लागि कन्सल्टेन्टको आवश्यकता पर्दैन । आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिन सकिने पनि दूतावासले जनाएको छ । फारम अनलाइनमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डि.भी.) आवेदन फारम भर्न सकिन्छ । आवेदन भर्दा पारिवारिक विवरण खुलाउनु पर्नेछ । आफ्ना पति, पत्नी र आवेदनको समयमा २१ वर्ष पूरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । एक जनाका लागि एउटा आवेदन मात्र बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
यस्तै हालसालै खिचिएको फोटो चाहिनेछ । अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटो सम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ । आफ्नो कन्फर्मेशन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नु पर्नेछ । यद्यपि, छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन । गत वर्ष २०२१ का लागि २ हजार ६ सय बढी नेपाली डिभीमा छनौट भएका छन् ।
महामारीको बीचमा ८५ जना नेपालीले पाए डाइभर्सिटी भिसा
विश्वभर महामारी फैलिएको अवस्थामा पनि ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । उनीहरुले अप्रिल, जुलाई र अगस्ट महिनामा भिसा प्राप्त गरेको हो । अमेरिकाको आप्रवासी भिसा पाइसकेका सयौं डिभी विजेता नेपालीहरु कोरोनाको महामारीका कारण नेपालमा नै अड्कीएका छन् ।
दूतावासका अनुसार, अप्रिल महिनामा १४ जना नेपालीले डाइभर्सिटी भिसा प्राप्त गरेका छन् । ती मध्ये १२ जनाले काठमाडौंको दूतावासबाट भिसा प्राप्त गरेका हुन् । यस्तै जुलाईमा भने ३३ जना नेपालीले भिसा प्राप्त गरेका छन् । भिसा पाउने मध्ये १९ जना प्राथमिक डिभी विजेता रहेको र १४ जना उनीहरुका दम्पत्ति र छोराछोरी रहेको दूतावासले जनाएको छ । त्यसैगरी अगस्ट महिनामा ३८ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेको दूतावासले जनाएको छ । ती मध्ये २१ जना प्राथमिक डिभी विजेता रहेको र थप १७ जना उनीहरुका दम्पति र छोराछोरी रहेका छन् ।
डिभी परेर अमेरिका जाने पहिलो नम्बरमा नेपाली
संसारभरबाट डिभी परेर अमेरिका जाने नेपालीहरु पहिलो नम्बरमा रहेका छन् । डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार गत आर्थिकबर्ष सन् २०१९ को तथ्यांक अनुसार विश्वभरमा नै डाइभर्सिटी भिसा पाउनेमा नेपालीहरु पहिलो नम्बरमा रहेका छन् ।
२०१९ का लागि ३ हजार ८०१ जना नेपालीहरुलाई डिभी लोटरी परेपछि ३ हजार २४७ जनाले भिसा पाएर अमेरिका गएका छन् जुन विश्वका कुनै पनि देशको तुलनामा सबैभन्दा धेरै हो ।
सन् २०२० का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए । हरेक देशका लागि हुने निश्चित कोटाका कारण पाँच सयदेखि १ हजारसम्म डिभी लोटरी जितेका नेपालीहरुले यो बर्ष पनि भिसा पाउने देखिएको छ ।
चालु आर्थिक बर्षका लागि ३ हजार ६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरु मध्ये जम्मा १ हजार ६९ जना प्राथमिक डिभी विजेताहरुले मात्र अमेरिकाको भिसा प्राप्त गरिसकेका छन् । एउटा देशबाट ७ प्रतिशत अर्थात् ३ हजार ५ सयको हाराहारीमा मात्र डिभी लोटरी विजेताहरु अमेरिका जान पाउने नियम रहेको छ ।





























प्रतिक्रिया