२०२१ को ईपीएस भाषा परीक्षा आगामी मार्चसम्ममा हुन सक्ने

२०२१ को ईपीएस भाषा परीक्षा आगामी मार्चसम्ममा हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका कारणले सन् २०२० मा रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सन् २०२१ को पहिलो त्रैमासिकभित्रै गर्ने तयारी गरिएको छ ।

कोरोना संक्रमण नरोकिएका कारण यो वर्षको मंसिरसम्म परीक्षा गर्ने सम्भावना नरहेपछि भाषा परीक्षाको मिति अर्को वर्षका लागि सारिएको हो । सामान्यता बर्सेनि चैत वा वैशाखमा गरिँदै आएको भाषा परीक्षा यो वर्ष कोरोनाका कारण सारिए पनि संक्रमण नरोकिएका कारण अन्ततः रद्द नै गरिएको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस शाखा नेपालले यो वर्षको भाषा परीक्षा नहुने भएपछि केही छिटो गरेर चैतसम्म गर्ने तयारीसहित प्रारम्भिक छलफल भइरहेको जनाएको छ । शाखाका निर्देशक इन्द्र गौतमले सन् २०२० मा भाषा परीक्षा हुने नदेखिएपछि २०२१ को मार्चसम्म गर्ने बारे छलफल भएको बताए ।

“भाषा परीक्षा गराउने बारे छलफल भए पनि कोरोना संक्रमणको अवस्था हेरेर आधिकारिक निर्णय गरिनेछ,” निर्देशक गौतमले भने, “भाषा परीक्षा गराउँदा भीडभाड हुने भएका कारण नेपालमा पनि संक्रमण दर कम हुँदै गए २०२१ को भाषा परीक्षा भने हुनेछ ।”

कोरिया सरकार नेपालबाट श्रमिक लैजान र भाषा परीक्षा गर्ने पक्षमा भए पनि कोरोना संक्रमणका कारण दुवै देश ‘पर्ख र हेर’को अवस्थामा छन् । यसअघि परीक्षा र सीप परीक्षा दिएर रोष्टर (योग्य सूची) मा रहेका नेपाली श्रमिकको छनोट प्रक्रिया कोरियामा भइरहे पनि कोरिया प्रवेश सहज बन्न सकेको छैन । नेपाली श्रमिक माग र आपूर्ति गर्ने पक्षमा दुवै देश सकारात्मक भए पनि संक्रमणको अवस्थाले श्रमिक जाने र परीक्षा गर्ने विषय टुंगो लाग्नेछ ।कारोबारबाट

Logo