नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद चर्किंदै गएपछि एकताका लागि १० बुँदे सहमति भयो। २७ असारमा भएको १० बुँदे सहमतिपत्र एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलले बुझाइसकेको छ।
तर, सहमतिपत्र कार्यान्वयन नहुँदै फेरि विवाद चर्किने संकेत देखिएको छ। सर्वोच्च अदालतको फैसलासँगै एमाले अध्यक्ष ओलीको नेतृत्वमा रहेको सरकार ढलेपछि पार्टी विवाद मिल्नेभन्दा चर्किने देखिन्छ। निवर्तमान प्रधानमन्त्री ओलीले बुधबार बालुवाटार छोडेर नीजि निवास बालकोट पुगेर वरिष्ठ नेता नेपालविरुद्ध कडा एवं आक्रामक अभिव्यक्ति दिएसँगै ‘१० बुँदे सहमति के हुने ?’ भन्ने चासो बढेको छ।
भक्तपुर बालकोट पुगेर ओलीले ‘नेपालको हकमा पार्टीमा कुनै स्थान नभएको’ बताए। ‘पार्टीमा नेपालको हकमा आत्मालोचन गर्ने कुनै ठाउँ नै नरहेकाे बताउँदै उनले ‘ नेपालकाे पछाडि लाग्नेको सन्दर्भमा कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न आए मौका दिने तर नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार नगरिने’ प्रस्ट पारेका छन्।
आफूलाई जालझेल गरेर हटाइएको बताउँदै अध्यक्ष ओलीले त्यसको अगुवाइ नेपालले गरेको आरोपसमेत लगाएका छन्। देश विकास गरेर, राष्ट्र एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि अगाडि बढाएर अघि बढ्दा विरोधीले आफूलाई हटाएको ओलीको गुनासो छ।
‘माधव नेपालजस्ता लाजशरम हराएका मान्छेको पछाडि लाग्नेहरू कमीकमजोरी महसुस गरी पार्टीमा आएर काम गर्न चाहे अवसर दिन सकिन्छ तर माधव नेपालको हकमा गल्ती कमजोरी, आत्मालोचना गर्ने कुनै ठाउँ छैन,’ ओलीले भने । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू नेता कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म ओलीको पक्षमा, नेपाल र प्रधानन्यायाधीशविरुद्ध चर्का र कडा नाराबाजीसमेत गरेका छन्।
-याली कोटेश्वर पुगेपछि उनीहरूले नेता नेपालको पुतलासमेत जलाए। -यालीमा मात्र नभई सामाजिक सञ्जालमा पनि ओली पक्षकाले नेपालको आक्रामकरूपमा आलोचना गरेका छन्। एमाले स्थायी कमिटी एक सदस्यले सरकारबाट बाहिरिनुपर्ने कारण पार्टी अध्यक्षबाट यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताउँदै यस्तो अभिव्यक्तिले पार्टी एकतामा फरक नपर्ने विश्वास व्यक्त गरेका छन् ।
केही समयका लागि आक्रोश हुनु स्वभाविक रहेको बताउँदै उनले ‘अब बस्ने स्थायी कमिटी बैठकमा १० बुँदे सहमतिपत्रबारे छलफल गरेर निर्णय हुने’ बताए। यद्यपि, ओली पक्षले नेपालबाहेक नेतासँग मात्रै पार्टी एकता हुनुपर्ने दबाब ओलीलाई दिइरहेका छन्। आफ्नै पार्टीको सरकार गिराउने गम्भीर किसिमको कदम नेपाल नेतृत्वमै भएकाले क्षमा गर्न नसकिने ओली पक्षका नेताले बताउँदै आएका छन् ।
नेपाल पक्षले ‘अब बस्ने स्थायी कमिटी बैठकले गर्ने निर्णयका आधारमा एकता अगाडि बढ्ने’ जनाएको छ। विवाद समाधानका लागि गठित कार्यदलले १० बुँदे सहमति गरेर शीर्षनेतालाई बुझाइसकेकोले बैठकमा छलफल हुने तर्क नेपाल पक्षका नेताको छ।
एक एमाले नेताका अनुसार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘नेपाल समूह सांसदले विश्वासको मत दिने कि नदिने भन्ने कार्यले समेत एमाले एकता निर्धारण हुनेछ। नेपाल समूहका २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै अदालतमा रिटसमेत दायर गरेका थिए।
नेपाल समूहका केही सांसद विश्वासको मत दिनुपर्ने पक्षमा उभिनुपर्ने तर्कसमेत गरिरहेका छन्। तर, नेपालनिकट नेता एवं सांसद सोमप्रसाद पाण्डेले ‘देउवालाई विश्वासको मत दिने कि नदिने बारे पार्टी निर्णयअनुसार हुने बताए। पार्टीभित्रको समस्या समाधान गरेर एकता प्रक्रियामा रहेकाले सबै विषयमा बैठकमा छलफल गरेर निर्णय हुने उनी बताउँछन्।राजधानीबाट





























प्रतिक्रिया