पूर्वअर्थमन्त्री पौडेलले ल्याएकै बजेट अध्यादेश संसदमा पेश हुँदै

पूर्वअर्थमन्त्री पौडेलले ल्याएकै बजेट अध्यादेश संसदमा पेश हुँदै

केन्द्रबिन्दु
0
Shares

निर्वतमान ओली सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा नभएको अवस्थामा अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएका थिए। आज चार बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पूर्वअर्थमन्त्री पौडेलले ल्याएको बजेट अध्यादेश पेश गर्न लागिएको अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बताए ।

उनका अनुसार सरकारले पुरानै बजेट अध्यादेश संसदमा पेश गर्ने तयारी गरेको छ । अघिल्लो सरकारले प्रतिनिधिसभा नभएकाले अध्यादेशबाट बजेट ल्याएको थियो । गत असार २८ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै आइतबार ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अध्यादेश दर्ता हुने भएको छ।

संसद पुनर्स्थापनापछि नयाँ सरकार बनेसँगै पुरानो बजेट खारेज गरी नयाँ बजेट ल्याउन सक्ने हल्ला चलिरहेको छ । तर अर्थ सचिव ढुङ्गानाका अनुसार अर्थमन्त्री जनार्दन शर्माले पुरानै बजेट अध्यादेश संसदमा पेश गर्न लागेका छन्।

बजेट अध्यादेशलाई संसदले नै संशोधनसहित पारित गर्ने नयाँ सरकारको तयारी छ। शुक्रबार अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अहिलेको आर्थिक परिवेशको श्वेतपत्र जारी गर्ने तयारी गरेको बताएका थिए। 

यस्तै, अर्थमन्त्री शर्माले नयाँ बजेट भन्दा पनि बजेट अध्यादेश संशोधन गरी लागू गर्ने तयारीमा छन्। सरकारले ल्याएको बजेट अध्यादेश संसद सुरु भएको ६० दिनभित्र संसदबाट पास भइसक्नुपर्नेछ। संसदमा बजेट अध्यादेश संशोधन छलफल गरी पारित गर्ने सरकारको तयारी रहेको छ ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए। 

Skip This
Skip This
Logo