‘राप्रपालाई देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी दलको रुपमा चिनाउनु जरुरी’

‘राप्रपालाई देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी दलको रुपमा चिनाउनु जरुरी’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलको रुपमा राप्रपाभित्र भावी नेतृत्व र कार्यक्रमबारे खुला छलफल गर्न पार्टीपंक्तिलाई आह्वान गरेका छन्।

‘कसैप्रति व्यक्तिगत लाञ्छना या अपशब्द प्रयोग नगरी पार्टीको कार्यक्रम र भावी नेतृत्वबारे खुला छलफल गर्न हामी कोही पनि हिच्किचाउन या डराउन हुन्न,’ अध्यक्ष लोहनीले आइतबार भने ।

प्रजातान्त्रिक पार्टीमा निर्वाध विचार आदान प्रदान गर्ने हक सबैका लागि सुरक्षित रहेकोमा उनको जोड थियो । महाधिवेशनको क्रममा, पार्टी नेतृत्व र आधारभूत मान्यताबारे प्रजातान्त्रिक बहस गर्नु सम्पूर्ण पार्टीपंक्तिको दायित्व हो भन्ने उनको भनाइ छ।

सामाजिक संजालमा लेख्दै लोहनीले पार्टीको आधारभूत मान्यता र एजेण्डाको परिधिभित्र रहेर खुला छलफल गर्न कार्यकर्तालाई आह्वान गरे।

लोहनीले आउँदो चार महिनाभित्र एकता महाधिवेशन सफल रुपमा सम्पन्न गरी, राप्रपालाई देशको जिम्मेवारी लिन सक्ने सशक्त राष्ट्रवादी र प्रजातान्त्रिक दलको रुपमा खडा गर्नु पर्ने बताए।

‘यही नै हाम्रो कर्तव्य हो,’ पार्टीपंक्तिलाई सम्बोधन गर्दै लोहनीले भने । ‘पार्टी हामी सबैको साझा राजनैतिक सम्पत्ति हो । यसको संरक्षण र सम्बद्र्धन कसरी गर्नुपर्छ भन्ने चिन्तन हामी सबैको दायित्व हो,’ उनले भने ।

‘यो अवधारणा बोकेर नेतृत्व चयनदेखि सबै बुँदामा छलफल गर्नु पर्दछ । आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रताको हामीले सधैँ संरक्षण गर्नु पर्दछ । यही प्रजातान्त्रिक दलको एउटा मुख्य चिन्ह हो।’

Logo