चोरीका दुई वटा मोटरसाइकलसहित एक जना पक्राउ

चोरीका दुई वटा मोटरसाइकलसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

पेशेवररूपमै मोटरसाइकल चोरी गर्ने १ जनालाई २ वटा मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ। 

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसिको मोटरसाइकललाई बिना साँचो डाईरेक्ट स्टार्ट गरी चलाइरहेको अवस्थामा कमलामाई नगरपालिका–७, दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए। 

उक्त मोटरसाइकल आइतबार विहान भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका–३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए। चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे नै उक्त मोटरसाइकलसहित १ जनालाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए।
    
नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुक्ष पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाइकलसमेत कौशलटारबाट बरामद गरेको छ। उक्त मोटरसाइकल जेष्ठ १० गते बालकुमारी, ललितपुरबाट हराएको भनी गोदावारी नपा–६, टिकाभैरव घर भएका लक्ष्मण रानाले हुलिया निवेदन यस महाशाखामा दिएका थिए।

पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरूसहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ।

पछिल्लो समय उपत्यकाका बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाइकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निगरानी राखी विशेष कारबाही अभियान ट्राफिक महाशाखाले निरन्तररूपमा चलाइरहेको छ।

Skip This
Skip This
Logo