एमाले केन्द्रीय कमिटी बैठकः १० बुँदे प्रस्ताव अनुमोदन

एमाले केन्द्रीय कमिटी बैठकः १० बुँदे प्रस्ताव अनुमोदन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको केन्द्रीय कमिटी बैठक भोलिसम्मको लागि स्थगित भएको बताएका छन्। उनले आजको बैठकले १० बुँदे प्रस्तावलाई अनुमोदन गर्दै मंगलवार ३ बजे पुनः बस्ने गरि बैठक स्थगित गरिएको बताए।

बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गरेको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ। 

केन्द्रीय कमिटीको १० औँ बैठक २०७५ जेठ २ को सिलसिलामा जोडेको बताउँदै प्रवक्ता ज्ञवालीले अहिले विकशित भएको घटनाक्रमले नेपालले हासिल गरेका अग्रगतिका प्रयासहरु, माथिको एक खालको धक्काको रुपमा पार्टीले लिएको बताए।

आइतबार पार्टीका केही सांसदहरुले पार्टी निर्णयको अवज्ञा गर्दै फ्लोरक्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभयो, यो पार्टी अनुशासनको दृष्टि, कम्युनिष्ट आन्दोलनको आदर्शको दृष्टिले जनताको भावनाको दृष्टिले सबै दृष्टिले सर्वथा अनुचित छ, प्रवक्ता ज्ञवालीले भने, उहाँहरुको यो कार्य अनुशासन हीन र गलत छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम, विशेष गरेर आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा, संसदभित्र देखिएका परिदृश्य, त्यसले नेकपा एमालेको जीवनमा पारिरहेका प्रभावहरु, यसका विविध आयामहरुको बारेमा चर्चा गरेको पनि प्रवक्ता ज्ञवालीले बताए।

त्यस्तै केन्द्रीय कमिटी बैठकले फ्लोरक्रस गरेर देउवालाई मत दिने २२ जनालाई २४ घण्टामा स्पष्टीकरण दिन भनेको छ ।

फ्लोरक्रस गर्ने सांसदले २४ घण्टामा स्पष्टीकरण दिनुपर्छ, अहिले स्पष्टीकरण मागिएको हो, यदि आएन भने र उहाँहरुले दिएको स्पष्टीकरणको आधारमा पार्टीले कारबाही गर्छ, प्रवक्ता ज्ञवालीले भने, १० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देउ, पार्टीको अपेक्षा उल्लंघन गर, भन्दैन, पार्टीलाई एकत्रित बनाउँछ ।

प्रवक्ता ज्ञवालीले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिन आवश्यक नरहेको बताउँदै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले १० बुँदे प्रस्ताव नमान्ने र ठाडो कुरा गरेकोले यो अवस्था आएको बताए। 

Logo