गत आर्थिक वर्षमा शेयरमा फड्को: ६ लाखभन्दा बढी लगानीकर्ता बढे

गत आर्थिक वर्षमा शेयरमा फड्को: ६ लाखभन्दा बढी लगानीकर्ता बढे

केन्द्रबिन्दु
0
Shares

एक वर्षयता शेयर बजारमा सर्वसाधारणको चासो निक्कै बढ्न थालेको छ। शेयर बजार मापक नेप्सेले आर्थिक वर्ष २०७७/७८ मा रेकर्ड राख्न सफल भएको छ।

कोरोना वैश्विक महामारीपछि व्यापार–व्यवसाय चौपट्ट हुँदा शेयरमा लगानी बढ्दै गएको हो। गत वर्ष निफ्रा कम्पनीको आइपिओ निष्कासन भएपछि शेयर बजार उकालो लाग्न थालेको थियो।  

पछिल्लो समय कम्पनीको आइपिओ आवेदन गर्नेको संख्या मात्र २० लाख पुग्न थालेको छ। अघिल्लो एक वर्षभित्र दोस्रो बजारमा शेयर खरिदबिक्री गर्ने लगानीकर्ता साढे दुई गुणाले बढेका छन्। 

गत आर्थिक वर्षमा दोस्रो बजारमा कारोबार गर्न  ६ लाख ३१ हजार ७ सय २६ नयाँ लगानीकर्ता थपिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ। नयाँ लगानीकर्ताको प्रवेशसँगै  दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या ८ लाख ७७ हजार २ सय पुगेको पनि नेप्सेले जनाएको छ। 

आर्थिक वर्ष २०७६÷७७ मा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या २ लाख ४५ हजार ४ सय ७४ मात्र रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा २५७.२४ प्रतिशत नयाँ लगानीकर्ता बढेका नेप्सेले उल्लेख गरेको छ।  

त्यस्तै, अघिल्लो वर्षको तुलनामा अनलाइन प्रयोगकर्ता मात्रै २२ गुणाभन्दा बढीले बढेका छन्। गत वर्ष अनलाइनबाट शेयर कारोबार गर्ने ७ लाख ९१ हजार ९८३ पुगेको छ। अघिल्लो वर्ष अनलाइनबाट मात्रै शेयर कारोबारकर्ता ३५ हजार १ सय १९ मात्रै लगानीकर्ता रहेका थिए। 

कोरोना महामारीको कारण भौतिक रूपमा ब्रोकर मार्फत शेयर खरिद बिक्री गर्ने अवस्था नभएकाले अनलाइन कारोबार बढ्दै गएको इनभेष्टमेन्ट फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।

उनले भने, ‘विगतका वर्षहरूभन्दा यो आर्थिक वर्ष शेयर बजारका लागि उत्साहजनक भएको छ। करिब १ हजार ३ सय हाराहारीमा रहेको नेप्से परिसूचक ३ हजार २५.८३ अंकसम्म पुगेको र कारोबार रकमसमेत साढे १९ अर्ब पुगेर रेकर्ड कायम भएको छ।’

शेयर खरिद–बिक्रीका लागि ब्रोकर अफिसमै जानुपर्ने बाध्यता हटेर अनलाइनबाट कारोबार गर्न मिल्ने भएपछि शेयर कारोबार प्रविधिमैत्री बन्न पुगेको हो।

अघिल्लो वर्ष लकडाउनमा करिब तीन महिना शेयर बजारसमेत बन्द रहेको थियो। बन्दाबन्दीको बिचमा अन्यत्र लगानीको वातावरण नभएपछि  सबैजसो लगानीकर्ता शेयर बजारमा झुम्मिएका रौनियारको भनाइ छ।

त्यस्तै, दोस्रो बजार उपत्यकामा मात्रै सीमित नभएर देशैभरि विस्तार भएको छ। मुलुकको ग्रामीण क्षेत्रमासमेत शेयर खरिद बिक्रीका लागि ब्रोकरका शाखासमेत खुलेका छन्। ५० मुख्य ब्रोकर रहेकामा ५० वटै ब्रोकरका शाखा नयाँ ठाउँमा थपिएका छन्।

अनलाइन कारोबार गर्न लगानीकर्ताले ब्रोकर कम्पनीसँगै सम्पर्क राख्नुपर्छ। ब्रोकर कम्पनीलाई दिएको आदेशअनुसार उनीहरूले नै अफलाइन कारोबार गरिदिन्छन्, जुन सुविधा अनलाइन कारोबार गर्न नजान्नेका लागि हो।

२०७७ साल असार मसान्तमा १ हजार ३६२.४ रहेको नेप्से सूचकांक २०७८ जेठ मसान्तसम्म ३ हजार २५.८ पुगेको थियो। २०७८ जेठ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण ४ हजार २ सय १६ अर्ब पुगेको छ। २०७७ साल असार मसान्तसम्म बजार पुँजीकरण १ हजार ७ सय ९२ अर्ब ७६ करोड रहेको थियो । 

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ। सूचीकृत कम्पनीमध्ये १ सय ४४ बैंक तथा वित्तीय संस्था र बीमाकम्पनी रहेका छन् भने ४० जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूह रहेका छन्। गत आर्थिक वर्षको असारसम्ममा  सूचीकृत कम्पनीको संख्या २ सय १२ रहेको थियो। 

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.४ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत कम्पनीको हिस्सा ८.९ प्रतिशत, लगानी कम्पनीको ८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ३.७ प्रतिशत, होटेलको १.५ प्रतिशत, व्यापारिक संस्थाको ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीको ९.० प्रतिशत रहेको छ। 

नेपाल स्टक एक्सचेन्जमा २०७८ साल जेठ सम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य ५ सय ७२ अर्ब ९२ करोड रहेको छ। आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र ४३ अर्ब ५८ करोड बराबरको बोनस शेयर, ४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, १७ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र ४ अर्ब १० करोड बराबरको म्युचुअल फन्ड गरी कूल ३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्। 

त्यस्तै, नेपाल धितोपत्र बोर्डले २० अर्ब ५४ करोड बराबरको डिबेन्चर, १४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, १३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र ८ अर्ब ४० करोड बराबरको म्युचुअल फन्ड गरी कूल ५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको नेप्सेले जनाएको छ।

Skip This
Skip This
Logo