जापानको टोकियोमा आज शुक्रबार साँझबाट विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ। ओलम्पिक फुटबलतर्फका खेलहरु भने दुई दिन अघिबाटै सुरु भइसकेका छन्।
ओलम्पिक फुटबलमा पुरुषतर्फ साविक विजेता ब्राजिल, फ्रान्स, जर्मनी, अर्जेन्टिना, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, दक्षिण अफ्रिका, स्पेन, आइभरिकोष्ट, इजिप्ट, होन्डुरस, मेक्सिको, न्युजिल्यान्ड, रोमानिया र साउदी अरबसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिलातर्फ १२ टिमले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ जर्मनीले गत संस्करणको उपाधि जितेको थियो।
दुई साता चल्ने यस प्रतियोगितामा महिलातर्फ २६ र पुरुषतर्फको ३२ खेल हुनेछ। राष्ट्रिय सिनियर टोलीहरुले खेल्ने दुई ठूला फुटबल प्रतियोगिता युरो कप २०२० र कोपा अमेरिका २०२१ सकिए लगत्तै ओलम्पिकमा फुटबलतर्फ प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको पुरुष फुटबलतर्फ यू–२३ राष्ट्रिय टोलीलाई खेलाइने गरिन्छ । तर, यसपटक भने यू–२३ को सट्टा यू–२४ टिमले ओलम्पिक खेल्न पाउनेछन् । कोभिड–१९ का कारण ओलम्पिक एक वर्षपछि सरेकाले एक वर्ष अघि नै खेल्न सक्ने खेलाडीलाई अहिले पनि अवसर दिइएको हो।
त्यसैले यस ओलम्पिकमा सन् १९९७ जनवरी १ तारिखपछि जन्मिएका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर एउटा टिममा बढीमा ३ जना बढी उमेरका खेलाडीलाई राख्न पाउने व्यवस्था छ । सन् १९९६ को एटलान्टा ओलम्पिकबाट २३ वर्षमाथिका ३ खेलाडी पनि राख्न पाउने नियम बनाइएको थियो । जुन नियम अहिले पनि कायम छ ।
ओलम्पिक फुटबलका चर्चित अनुहारहरु:
ब्राजिल
हालै सम्पन्न कोपा अमेरिका २०२१ को उपविजेता तथा ओलम्पिक साबिक बिजेता टोली ब्राजिलमा ड्यानी आल्भेस, रिचारलिसन, पाउलिन्हो, माल्कोम लगायतका खेलाडीहरुले ओलम्पिकमा सहभागिता जनाउँदैछन् । कोपा अमेरिकामा उनीहरुले उल्लेखनीय प्रदर्शन गरेका थिए । त्यसैले उनीहरुलाई ब्राजिल टोलीका नाम चलेको खेलाडी भन्न सकिन्छ । सन् २०१६ को ओलम्पिकमा ब्राजिललाई स्वर्ण जिताउँदा कप्तानको भूमिकामा रहेको नेयमार भने टोलीमा छैनन् ।
स्पेन
युरोकप २०२० को सेमीफाइनलसम्मको यात्रा तय गरेको स्पेनका गोलरक्षक उनाई सिमोन, मिडफिल्डरहरु पेड्री, डानी ओल्मो, मार्को आसेन्सियो, मिकेल ओयार्जबल, एरिक गार्सियाले यसपालीको ओलम्पिक २०२० खेल्दैछन् । उनीहरु स्पेनका लागि नाम चलेका अनुहार हुन् ।
यता कोपा अमेरिका २०२१ जितेको अर्जेन्टिनामा भने प्राय सबै नयाँ अनुहारहरु छन्। लियोनल मेस्सी, एन्जेल डी मारिया जस्ता नाम चलेका कुनैपनि खेलाडी टोलीमा छैनन् । यस्तै फ्रान्समा पनि अधिकांश नयाँ खेलाडी छन् । एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे, कान्टे, पल पोग्बालगायत कोहि पनि नाम चलेका खेलाडी छैनन्। यता जर्मनीले पनि प्राय सबै नयाँ अनुहारलाई स्थान दिएको छ।
पुरुष फुटबलमा पहिलो चरणमा चार वटा समूह छन्:
समूह ‘ए’: जापान, फ्रान्स, मेक्सिको, दक्षिण अफ्रिका
समूह ‘बी’: दक्षिण कोरिया, न्युजिल्यान्ड, रोमानिया होन्डुरस
समूह ‘सी’: स्पेन, अर्जेन्टिना, अस्ट्रेलिया, इजिप्ट
समूह ‘डी’: ब्राजिल, जर्मनी, साउदी अरब, आईभरिकोस्ट





























प्रतिक्रिया