नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जान आग्रह गरेका छन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताएका हुन्।
अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न पनि सुझाव दिए।
त्यस्तै अध्यक्ष वैद्यले ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको बताए। वैद्यले ओलीको कार्यशैली इगो र पदप्रतिष्ठामै अड्किएको बताए। अध्यक्ष वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भन्दै प्रश्न समेत गरे। उनले संसदवादी कम्युनिष्टलाई फेरि मिलेर अघि बढ्न सुझाएका छन्।
“ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो, पानीजहाज र रेलका कुरा गर्नुभयो, तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्किएको छ, यस्तै बुद्धिले रेल आउँछ र ?” अध्यक्ष वैद्यले भने, “संसदमा जाने साथीहरु सबै एक हुँदै, सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ, त्यो सकिन्न भने सरकार, सदन र सडकमा भएका कम्युनिष्टहरुबीच तालमेल गरौँ ।”
अध्यक्ष वैद्यले नेपालमा सांसदवादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरिका कम्युनिष्ट रहेको उल्लेख गरे।
नेपाली राजनीतिको संकट कम्युष्निष्टहरुको संकट होः धर्मेन्द्र बाँस्तोला
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिष्ट आन्दोलनको संकट भएको बताएका छन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेता बाँस्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट देखा परेको बताएका हुन्।
नेता बाँस्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको संकट कम्युनिष्टहरुको संकट भएको समेत बताए। साथै नेता बाँस्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिहरुको हातमा रहेको समेत बताए। नेता बाँस्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए।
लोकतान्त्रिक शक्तिहरुको सरकार आएपनि जनता भ्रष्टाचारकै शिकार भएः अष्टलक्ष्मी शाक्य
नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिले पनि भ्रष्टाचारको शिकार बनेको र प्रताडित भइरहेको बताइन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन्।
नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन्। पटक–पटक दलका सरकार आएपनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको बताउँदै नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन्। साथै नेतृ शाक्यले सिर्जनशील युवाहरुलाई किन बाँदर बनाएर सडकमा ल्याउनुभएको भन्दै प्रश्न गरिन् । उनले कम्युनिष्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताइन्। नेतृ शाक्यले अब कम्युनिष्ट पार्टीभित्र यी तमाम विषयको छलफल हुनुपर्ने धारणा राखिन्।
५ दलको एकताले संविधान र संसद जोगायोः चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ५ दलको एकताले संविधान र संसद जोगाएको बताए। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन्।
केसीले सर्वोच्चको फैसला स्विकार्य रहेको बताउँदै राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक भएको समेत आरोप लगाए।
अहिलेको संविधान जोगिएको र अबको दिनमा संसोधन गरेर अझै उत्कृष्ट संविधान बनाउने बताउँदै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको बताए। अध्यक्ष केसीले जनता कोरोनाबाट बच्न खोप उपलब्ध गराउनु पर्ने बेलामा ओली नेतृत्वको सरकारले भोट मागिरहेको र संविधान च्यात्न खोजेपछि संघर्षमा जानुपरेको समेत बताए।
अध्यक्ष केसीले चुनाव जित्नका लागि खर्च गर्ने तर चुनाव जितेपछि भ्रष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको समेत बताए।





























प्रतिक्रिया