अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण अर्थतन्त्रले गति लिन नसकेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अर्थमन्त्रीसँग आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्माले कोरोना महामारी कारण अर्थतन्त्र चलायमान बनाउन ठूलो चुनौती रहेको बताए।
उनले आफू आर्थिक क्षेत्रको विद्यार्थी नभएको तर अर्थतन्त्रका विज्ञ,आर्थिक पत्रकार, अर्थसचिवलगायत सबै विज्ञहरूसँगको सहयोगमा अर्थ मन्त्रालयलाई गतिशील बनाउने उल्लेख गरे। उनले भने,‘महामारीले थपिँदै गएका आर्थिक चुनौतीलाई सबैको साथ र सहयोग लिएर अघि बढ्छु।’
पर्यटन, साना तथा मझौला व्यवसाय, यातायात क्षेत्र, पार्टी प्यालेसलगायत व्यवसायकको उत्थान नगरिकन अगाडि बढ्न नसकिने अर्थमन्त्री शर्माको भनाइ छ।
आर्थिक तथा वित्तीय क्षेत्रमा हेर्दा झनै ठूलो संकट देखिएको उनले सुनाए। ‘अर्थ मन्त्रालयको कार्यभार सम्हालेर आएपछि विभिन्न मन्त्रालयका सचिवसँगको छलफलमा बजेट खर्च किन भएन भनी सोध्दा सचिवहरुबाट प्रश्नै–प्रश्न मात्र आयो,’ उनले भने, ‘सचिवहरूले प्रश्न योजना छ, बजेट छैन। बजेट छ,योजना छैन भन्नुभयो।’
राज्यको प्रशासनिक क्षमता, दरबन्दी, कर्मचारीलगायत कुरामा समस्यै समस्या रहेको अर्थमन्त्री शर्माले बताए। ‘आयोजनाका ठेक्कापट्टा मोबिलाइजेसनमा १० प्रतिशत भए पनि लिने पद्धति रहेकोे छ। यसमा आफ्नो क्षमता कति, कति लिन पाउनेजस्ता समस्याका बीचमा हामी रहेका छौं। यस्ता समस्या समाधान नगरिकन मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने उनको भनाइ छ।
अर्थमन्त्री शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाउँदा गर्व नभएर चुनौती महसुस गरेको बताए । ‘जनताको छुटै अपेक्षा रहेको छ। जनताको अपेक्षा पूरा हुने आत्मविश्वासका साथ काम गर्छु,’ उनले भने। अहिले फोनबाट बधाई दिन आग्रह गरे पनि आफन्त मन्त्रालयमा आउँदा काम गर्ने अवसर समेत नपाएको उनको भनाइ छ।
मन्त्री भएपछि धेरै पत्रकारले अन्तर्वार्ता दिन आग्रह गरे पनि आफू अहिल्यै अन्तर्वार्ता दिने अवस्थामा नपुगेको उनले सुनाए। ‘अन्तर्वार्ता दिनका लागि पहिले आफू तयार हुनु पर्छ, म मन्त्रालयमा हरेक कुराको अध्ययन गरिरहेको छु,’ उनले भने।
अब सरकारले सबैलाई समेट्ने गरी ‘सहकार्य योजना’ बनाउने उनले बताए। ‘सबै काम सरकारको संयन्त्रबाट मात्रै गर्नुपर्छ भन्ने हुँदैन। सबै क्षेत्र लागि परेर सहकार्य गरी अघि बढ्ने उद्देश्यसाथ योजना बनाउनुपर्छ,’ शर्माले भने।





























प्रतिक्रिया