नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री पद माग्नेहरूको हुलले आफूलाई घेराबन्दीमा पारेको खुलासा गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवसलाई शनिबार पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको बताए।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धनसरकार बनेपछि आफूलाई थेगिनसक्नु तनाव भएको उनको भनाइ छ। अहिले माओवादीबाट सबै (४९ जना) सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेको उनले सुनाए।
‘अहिले मन्त्री बन्न इच्छुकको लाइन छ। मन्त्री बन्न मलाई दबाब दिन आएको हुलबाट उम्केर आएको छु,’ उनले भने, ‘मन्त्री बनाइदिनुस् भन्नेहरूको ‘आतंक’ छ। मैले कसलाई बनाउने, कसलाई नबनाउने? सबै (४९ जना) सांसदलाई नै मन्त्री बनाउन दबाब छ।’
प्रचण्डले सम्बोधामा माओवादी केन्द्रको भागमा सात मन्त्री मात्र परेको उल्लेख गरे। त्यसमा पनि जनार्दन शर्मा अर्थ र पम्फा भूसाल उर्जा मन्त्री बनिसकेका छन्। ‘अब बाँकी आफ्नो भागका पाँच मन्त्रालयमा कसरी सबैलाई अटाउन सकिन्छ?’ उनले पश्न गरे।
कतिपय सांसदले मन्त्री बनाएन भने सरापेर हिँड्न थालेका दुखेसो उनले पोखे। ‘मन्त्री हुन नपाएपछि नेतृत्व बदमास भन्छन,’ उनले भने, ‘म ४–५ दिनदेखि ठूलो मानसिक तनावमा छु।’
कम्युनिस्टहरूले आदर्शका कुरा गरे पनि चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमै अड्किएको उनको धारणा छ। ‘हामी आदर्शका निम्ति होइन, पदका लागि कुदेका रहेछौँ,’ उनले भने, ‘आदर्शका कुरा गर्ने, चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ। अहिलेको कल्चर भनेको मन्त्री नपाउँदा केही नहुनेजस्तो भएको छ।’
गठबन्धनको सरकारले अहिलेसम्म चार मन्त्री मात्र नियुक्त गरेको छ। कांग्रेसभित्र पनि माओवादी केन्द्रको जस्तै मन्त्रीका आकांक्षी बढेकाले सरकारले पूर्णता पाउन सकेको छैन।





























प्रतिक्रिया