काङ्ग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा मात्रै हाे-कमल थापा

काङ्ग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपा मात्रै हाे-कमल थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्टबीच बैचारिक, चरित्रगत, नितिगत कार्यशैलीमा भिन्नता नरहेको बताउँदै काङ्ग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुन सक्ने बताएका छन्। 

आज काठमाडाैंको क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले चौध वर्ष अघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताए। अध्यक्ष थापाले मुलुकमा ब्याप्त विकृती, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाई राप्रपा हुनुपर्ने बताएका छन्। 

अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा  संगठित र योजनाबद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको समेत बताएका छन्। नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार संचालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए।

पार्टीको महाधिवेशन र स्थानिय तहको निर्वाचनको तयारी तिब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सकृय सदस्यता वितरण अभियान र जनताको सुखदुःखमा उच्चप्राथमिकता साथ काम गर्न आग्रह गरे। काङ्ग्रेस र कम्युनिस्टको असफलता, भ्रस्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने आवश्यकता औंल्याउँदै थापाले जनताले विकल्प खोजेका छन्, अबको विकल्प राप्रपा बनाउनको निमित्त सक्रियतापूर्वक काम गर्न जोड दिए । 

कार्यक्रममा नेकपा एमालेका काठमाडाैं जिल्ला सदस्य न्युक्षे महर्जनसहित थुप्रै नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन्। कार्यक्रममा पार्टीका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ्ग, काठमाडाैं जिल्ला अध्यक्ष नवराज सिंखडा, केन्द्रीय सदस्य केशव रेग्मी लगायतले आफ्नो धारणा राखेका थिए भने कार्यक्रम क्षेत्र नं. ५ (क) का अध्यक्ष अमित थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।

Logo