बाढी र पहिराेले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्लाले यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो।
जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो। हेलम्बु गाउँपालिका–१ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो।
विज्ञका अनुसार यसपाली अप्रत्यासितरुपमा लेदो र गेगरसहितको बाढी आउँदा अकल्पनीय क्षति भएको स्थानीय प्रशासनको भनाइ छ। विगतमा आएको जुरे पहिरो होस् या अन्य क्षेत्रका मनसुनजन्य घटना सिन्धुपाल्चोकका कतिपय बासिन्दाका लागि अकल्पनीय काल बनेर आएको छ।
अर्काे दोस्रो बढी क्षति हुने मनाङ हो । त्यहाँ मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ। झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ। सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ।
यसपाली मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकीन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउँछन्।
सिन्धुपाल्चोकमा बाढीपहिराेमा परि पाँच जनाले ज्यान गुमाएका छन्। अझै २० बेपत्ता छन् भने छ जना घाइते भए। जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ। उक्त जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षतविक्षत छ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त अभिलेख अनुसार मानवीय क्षतिका हिसाबले सिन्धुपाल्चोकपछि गोरखा र डोटीमा चार/चार, पाँचथर, रोल्पा, रौतहट र दाङमा तीन/तीन, पाल्पा, तनहुँ र दार्चुलामा पाँच/पाँच जनाले ज्यान गुमाए।
गत जेठ २८ मा नेपाल भित्रिएको यसपालिको मनसुनबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन्। कूल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ। विपदबाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्याल मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २७८ र स्थलमार्गबाट ४३२ गरी ७१० जनाको उद्धार गरेको बताउँछन्। जोखिम क्षेत्रका चार हजार ६०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए।
सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची खोला किनारका १९६ घरमा स्थलगत र ड्रोनका माध्यमबाट स्थलगत निरीक्षण तथा अध्ययन गरि नोक्सानीको मूल्याङ्कन भइरहेको छ। देशभरिको क्षतिको विवरण अझै सङ्कलन जारी छ।
यसपालीको मनसुनजन्य घटनाबाट क्षति बेहोरेको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्थापनका कार्य अघि बढाएको छ। त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा जानकारी गराइसकेका छन् । मन्त्री खाँड भन्छन्, “सरकारले मनाङको चामेलगायत सडक सञ्जाल नपुगेर अभावग्रस्त भएको क्षेत्रमा खाद्यान्न तथा औषधि हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको छ।”
सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ। यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्याविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ।
सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट सुरु गरेको जनाइएको छ।
अस्थायी आवास पुनःनिर्माण तीव्र
सरकारले विपदबाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत तीव्ररुपमा अघि बढाएको छ। यस वर्ष मनसुनजन्य विपदबाट क्षति भएका आठ जिल्लाका ५७३ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि रु २ करोड ८६ लाख ५० हजार रकम असार मसान्तभित्र मै सम्बन्धित जिल्लामा पठाइएको प्राधिकरणको भनाई छ।
गत वर्षको विपदबाट क्षति पुगेका २२ जिल्लाका चार हजार ९३७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि सङ्घीय सरकारकोतर्फबाट बेहोर्नुपर्ने प्रथम किस्ताबापतको रु २९ करोड ९९ लाख २६ हजार सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ।
नेपालमा गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो। यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आँकलन गरिएकाले पनि बाढी, पहिराको जोखिम विगतकोभन्दा बढी नै छ। नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन्। हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ। नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन्।
खानी तथा भूगर्भ विभागका राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपदबाट नेपाल उच्च जोखिममा रहेको बताउँछन् । विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको बताए। गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपदबाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो। एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।रासस





























प्रतिक्रिया