नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन र सरकार ढाल्न सफल भएको बताएका छन्। तैपनि, पार्टी एकता प्रक्रियामा जोडिन उनको आग्रह छ।
उनले पार्टीले क्षमा गर्ने र अब गल्ती गर्न नहुने पनि बताए।
अखिल नेपाल महिला (अनेम) संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले एकता प्रक्रियामा नआए कम्युनिस्ट आन्दोलन मात्रै नभइ आफ्नै पनि राजनीतिक भविष्य ध्वस्त हुने चेतावनी दिए।
‘कसरी राष्ट्रपतिकहाँ विरोधीहरूको पछिपछि लागेर एमालेको सरकार ढालेर विरोधीलाई बनाउन गइरहेका छन्? हामीले देखिरहेका छौं, यसरी, आन्दोलनको भविष्य ध्वस्त पार्ने र आफ्नो भविष्य पनि ध्वस्त पार्ने काम किन गर्ने?’ ओलीले भने।
एमाले पार्टी एक÷दुई जनाका मात्रै नभइ सबै एमालेजनको पसिनाले बनेको तर, आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरूको जालझेलसँगै प्रतिक्रियावादीहरूसँग भित्री साँठगाँठ गर्ने, पार्टी ढाल्ने र सरकार ढाल्ने खेलमा नेता नेपाल पक्ष सामेल भएको आरोप लगाए।
यससँगै नेपालले पार्टी फुटाएर विपक्षीलाई सजिलो बनाएको, आफ्ना सांसदहरूलाई झुक्याउने र भ्रममा पार्ने कार्य पनि नेता नेपालले गरेको अध्यक्ष ओलीले बताए।





























प्रतिक्रिया