आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै यातायात व्यवसायीहरुले बुझाए सरकारलाई चाबी

आफ्ना मागहरु बेवास्ता गरिएको भन्दै यातायात व्यवसायीहरुले बुझाए सरकारलाई चाबी

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीका कारण यातायात बन्द हुँदा यातायात क्षेत्र संकटमा परेको तर सरकारले यातायात व्यवसायीको माग सम्बोधन नगरेको भन्दै विरोध गरिरहेका छन्।

चार दिनदेखि निरन्तररुपमा विभिन्न माग राख्दै आन्दोलनमा रहेका ट्याक्सी लगायत सार्वजनिक यातायात व्यवसायीहरुले आइतबार आफ्ना सवारीको चाबी सरकारलाई बुझाएका हुन्।

आइतबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत व्यवसायीहरुले गाडीका चाबी सरकारलाई बुझाएको सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले बताए। 

महासचिव नेपालले सरकारसँग विगतदेखि सार्वजनिक यातायात क्षेत्रलाई माथि उठाउनको लागि विभिन्न राहतका प्याकेज ल्याउन तथा सवारी भाडा समायोजनका लागि माग राख्दै आए पनि व्यवसायीका मागलाई बेवास्ता गरेकाले आज सवारीको चाबी नै सरकारलाई बुझाएको बताए। 

‘हामीले राखेका सात बुँदे माग सम्बोधन नभएपछि चाबी बुझाउन बाध्य भयौँ’ महासचिव नेपालले भने।

त्यस्तै, महासंघका अनुसार माग पूरा गर्न यातायात व्यवस्था विभाग र सम्बन्धित मन्त्रालयले कुनै पहल नगरेको र आफूहरुका मागप्रति बेवास्ता गरिएकाले चाबी बुझाईएको जनाएको छ। 

यातायात व्यवसायीहरुले गत बिहीबार चक्रपथमा ट्याक्सी लगायत अन्य सवारीको र्याली निकालेर नै विरोध गरेका थिए । 

व्यवसायीका सरकारसँग यस्ता छन् मागः
१) एउटै प्रदेशभित्र चल्ने गाडीहरुको भाडा समायोजन हुनुपर्ने
२) यातायात क्षेत्रमा रहेका व्यवसायी र मजदूरलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने
३) यातायातको भाडा समायोजन गर्नुपर्ने 
४) कोभिड अवधिको बीमा वापतको रकम छुट हुनुपर्ने
५) सडक कानुन लागू गर्नुपर्ने 
६) कागजपत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने 
७) ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने 

Logo