संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद नारादमुनी रानालाई पदबाट राजीनामा दिन र समितिबाट निस्किन भनेका छन्।
राना समितिमा बस्न लायक नभएको पनि नेपालले बताए। संसद् र सरकार गठनबारे आइतबार छलफल हुने क्रममा रानाले शेरबहादुर देउवा नेतृत्वको सरकार र संसद् परमादेशबाट बनेको टिप्पणी गरेका थिए। उनी एमाले अध्यक्ष केपी ओलीपक्षीय सांसद हुन्।
लगत्तै नेपाल आक्रोशित भए र भने, ‘तपाईंले तत्काल राजीनामा दिनुहोस्, निस्किनुहोस्।’
तर, रानाले परमादेशबाट सरकार र संसद् बनेको भन्न छाडेनन्। त्यसपछि कांग्रेस, माओवादी र माधवपक्षीय अन्य सांसदहरू पनि रानाको अभिव्यक्तिलाई लिएर कट्किए।
उनीहरूले संसद् र सरकार जनादेशले बनेको जिकिर गर्दै अमर्यादित कुरा नगर्न चेतावनी दिए।
छलफलमा सांसदहरूबीच चर्काचर्की परेपछि समिति सभापति पवित्रा निरौला खरेलले राजनीतिक दलहरूको बैठकस्थल नभएको बताउनु परेको थियो। उनले समितिको निर्णय कार्यान्वयन गर्नका लागि समिति क्रियाशील रहेको पनि बताइन्।































प्रतिक्रिया