जारी टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया बालिकाले स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन्। १३ वर्षीया मोमिजी निशियाले महिला स्ट्रिट स्केटबोर्डिङमा स्वर्ण जितेर इतिहास बनाएकी हुन् । स्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितिन् । उनी पनि १३ वर्षकै हुन् । यस्तै, जापानकै १६ वर्षीया फुना नाकायामाले कास्य पदक हात पारेकी छन्।
पदक जित्ने तीन खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन रह्यो । शीर्ष तीन पदक जितेका खेलाडीको यो अहिलेसम्मकै कम औसत उमेर हो । स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन्।
ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरि गेस्ट्रीङ हुन् । उनले १९३६ को बर्लिन ओलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन् । यो उमेर मोमिजीको भन्दा ६३ दिन कम हो। जारी ओलम्पिकमा चीनले अहिलेसम्म ६ स्वर्ण, २ रजत र ५ कास्य गरी १३ पदक जितिसकेको छ।
दोस्रो स्थानको आयोजक जापानले ६ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ८ पदक हात पारेको छ। अमेरिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक हात पारेको छ। ओलम्पिकमा अहिलेसम्म ३७ देशले पदक जितिसकेका छन्।





























प्रतिक्रिया